बागलुङ । बागलुङस्थित धवलागिरि बहुमुखी क्याम्पसले कार्यालय समय परिवर्तन गरेकोप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ समितिले कडा आपत्ति जनाएको छ ।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरूसँग कुनै समन्वय र परामर्श नगरी एकलौटी रूपमा कार्यालय समय हेरफेर गरेको भन्दै नेविसंघले आन्दोलनको चेतावनी दिएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयको सूचनालाई आधार मान्दै क्याम्पसले हालै आफ्नो कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गरेको छ । यसअघि क्याम्पसको कार्यालय बिहान ६ बजेदेखि नै सञ्चालन हुँदै आएको थियो ।
नेविसंघ धवलागिरि बहुमुखी क्याम्पस इकाइले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्यालय समय परिवर्तनले बिहानी सत्रमा अध्ययन गर्ने विद्यार्थीहरू प्रत्यक्ष मर्कामा परेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ– धवलागिरि क्याम्पसमा बिहानको सिफ्टमा स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका कक्षाहरू सञ्चालन हुन्छन् । कार्यालय ९ बजे मात्र खुल्दा बिहानी सत्रका विद्यार्थीहरू पुस्तकालय, लेखा शाखा, परीक्षा र खेलकुद शाखाबाट प्राप्त हुने सेवाबाट पूर्ण रूपमा वञ्चित भएका छन् ।
इकाइ कार्यवाहक सभापति सचिन हरिजनद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार र क्याम्पस प्रशासनले सरोकारवालासँग समन्वय नगरी ‘दम्भपूर्ण’ निर्णय गरेको आरोप लगाइएको छ । “जमिनको यथार्थ नबुझी गरिएका यस्ता निर्णयले विद्यार्थीको अधिकार कुण्ठित गरेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले तत्काल बिहानी सत्रका विद्यार्थीका लागि कार्यालयका सेवाहरू सुचारु गर्न माग गरेको छ । यदि क्याम्पस प्रशासनले आफ्नो मागलाई कमजोरी ठानेर बेवास्ता गरेमा सशक्त विद्यार्थी आन्दोलन छेड्ने चेतावनी समेत दिइएको छ ।
