• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

के पूर्णबहादुरले नयाँ पार्टी बनाउन लागेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह र शक्ति संघर्षले नयाँ मोड लिएको छ । पछिल्ला केही दिनयताका गतिविधि र विशेषगरी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देखाएको सक्रियताले ‘के पूर्णबहादुरले नयाँ पार्टी बनाउन लागेका हुन् ?’ भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।

नेता खड्काले १५ वैशाख बुधबार (भोलि) का लागि आफ्नो समूहको बृहत भेला आह्वान गरेका छन् । काठमाडौंको धुम्बाराहीमा हुने भनिएको यस भेलामा १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूलाई बोलाइएको छ । ठूलो संख्यामा जनप्रतिनिधि र नेताहरूलाई शक्ति प्रदर्शनकै शैलीमा बोलाइनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

सर्वोच्च अदालतले नेपाली काँग्रेस पार्टीको आधिकारिकतासम्बन्धी पछिल्लो रिट खारेज गरिदिएपछि नेता गगन थापा नेतृत्वको समूहलाई कानुनी र नैतिक बल मिलेको छ । अदालतको यो फैसलासँगै खड्का समूहमा एक प्रकारको छटपटी देखिएको छ । अदालतले गगन नेतृत्वलाई मान्यता दिएपछि त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति बनाउन खड्काले शृंखलाबद्ध बैठकहरू गर्दै आएका छन् ।

यसअघि ६ वैशाखमा धुम्बाराहीमै उनले निवर्तमान केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए भने त्यसको अघिल्लो दिन गल्फुटारस्थित आफ्नै निवासमा शीर्ष नेताहरूसँग गोप्य परामर्श गरेका थिए । अदालतको फैसला आफ्नो पक्षमा नआएपछि खड्काले ‘सामूहिक शक्ति’ देखाएर नेतृत्वलाई दबाब दिने वा नयाँ बाटो रोज्ने तयारी गरेको आशंका गरिएको छ ।

पार्टीको आधिकारिकता सम्बन्धी विवादमा अदालतबाट पराजित भएपछि खड्का पक्षले आफूलाई ‘अन्यायमा परेको’ महसुस गरेको छ । भोलिको भेलाले पार्टीभित्रै समानान्तर गतिविधि सञ्चालन गर्ने वा नयाँ दलको स्वरूप तय गर्ने भन्नेबारे ठोस निर्णय लिन सक्ने स्रोतको दाबी छ ।

यही रस्साकस्सीकाबीच ६ वैशाखमा सभापति गगन थापा र पूर्णबहादुर खड्काबीच गल्फुटारमा भेटवार्ता भएको थियो । पार्टीभित्र दुई धार स्पष्ट भइरहेका बेला भएको उक्त भेटलाई ‘सहमति खोज्ने प्रयास’का रूपमा हेरिए पनि दुवै पक्षले छलफलका विषयवस्तु सार्वजनिक गरेका छैनन् ।

गगनसँगको भेटलगत्तै खड्काले जिल्ला सभापतिहरूसम्मलाई समेटेर भेला बोलाउनुले सहमति भन्दा पनि टकरावको स्थिति बढ्दै गएको संकेत गर्छ ।

खड्काको सचिवालयले यसलाई ‘नियमित परामर्श’ भने पनि महाधिवेशनबाट निर्वाचित ठूलो पंक्तिलाई नै भेला गर्नुले नेपाली कांग्रेसभित्र ठूलो राजनीतिक परकम्प जाने निश्चित छ । के खड्काले पार्टीभित्रै आफ्नो अस्तित्व रक्षाका लागि यो जुहारी खेलिरहेका हुन् वा अर्को पार्टीको बीजारोपण हुँदैछ ? यसको उत्तर भोलिको भेला र त्यसपछि सार्वजनिक हुने खड्काको अभिव्यक्तिले दिनेछ ।