काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा विवरण सार्वजनिक गर्दै अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुँदै चालु वर्ष देशको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो । यो प्रक्षेपण ६ देखि ८ महिनासम्मको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा तयार गरिएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार करिब ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको संशोधित अनुमान छ भने २०८०/८१ मा ५७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो । आर्थिक वृद्धिदर मापनका लागि स्थिर मूल्यमा आधारित कुल गार्हस्थ उत्पादन (जीडीपी) प्रयोग गरिएको छ, जसअनुसार चालु आवमा आधारभूत मूल्यमा वृद्धिदर ३.६८ प्रतिशत र उपभोक्ता मूल्यका आधारमा ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षमा भने आधारभूत मूल्यमा ३.८० प्रतिशत र उपभोक्ता मूल्यमा ४.४३ प्रतिशत वृद्धिदर रहेको थियो । यसले चालु वर्षमा वृद्धिदर केही खुम्चिने संकेत गर्छ ।
सरकारले चालु आवको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । तर माघ महिनामा गरिएको अर्धवार्षिक समीक्षामार्फत उक्त लक्ष्य घटाएर ३.५ प्रतिशतमा झारिएको छ । यसैबीच, विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ मा भने नेपालको आर्थिक वृद्धि अझै कम भई २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको थियो । यसले सरकारी लक्ष्य र अन्तर्राष्ट्रिय संस्थाको अनुमानबीच फरक देखाए पनि समग्रमा आर्थिक वृद्धि मध्यम स्तरमै रहने संकेत गरेको छ ।
क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि कमजोर रहने देखिएको छ । कृषि, वन तथा मत्स्य क्षेत्र करिब १.२८ देखि १.५८ प्रतिशतको बीचमा मात्र बढ्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३ प्रतिशतभन्दा बढी वृद्धिदरको तुलनामा उल्लेख्य कमी हो । गैरकृषि क्षेत्रको वृद्धि ४.५४ प्रतिशत रहने प्रक्षेपण छ । औद्योगिक संरचनाअनुसार प्राथमिक क्षेत्रको वृद्धि करिब १.६३ प्रतिशत, द्वितीय क्षेत्रको ५.७७ प्रतिशत र सेवा क्षेत्रको ४.२१ प्रतिशत रहने अनुमान छ ।
उप–क्षेत्रगत विवरणअनुसार सबैभन्दा उच्च वृद्धि विद्युत तथा ग्यास क्षेत्रमा २०.९३ प्रतिशत रहने अनुमान गरिएको छ । वित्तीय तथा बीमा सेवा ९.१६ प्रतिशत, थोक तथा खुद्रा व्यापार ८.२१ प्रतिशत, आवास तथा भोजन सेवा (होटल तथा रेस्टुरेन्ट) ७.१२ प्रतिशत र यातायात तथा भण्डारण ५.७९ प्रतिशतले बढ्ने प्रक्षेपण छ । सूचना तथा सञ्चार ५.५३ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा ४.५२ प्रतिशत र स्वास्थ्य तथा सामाजिक सेवा ४.०४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।
त्यस्तै, खानी तथा उत्खनन ३.५२ प्रतिशत, पेशागत तथा प्राविधिक सेवा ३.२७ प्रतिशत, उद्योग २.८३ प्रतिशत, घरजग्गा कारोबार २.६९ प्रतिशत, अन्य सेवा २.६५ प्रतिशत र निर्माण क्षेत्र २.३१ प्रतिशतले विस्तार हुने अनुमान छ। पानी आपूर्ति तथा सरसफाइ क्षेत्र १.९९ प्रतिशत, शिक्षा क्षेत्र १.५० प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्र ०.२३ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण छ ।