काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टियु) मा संयुक्त विद्यार्थी संगठनले मंगलबार विभिन्न नारासहित प्रदर्शन गरेका छन् । उनीहरूले शैक्षिक संस्थाहरूमा हुने छात्रा हिंसाविरुद्ध एकजुट बनौं, क्याम्पसहरू सुन पसल होइनन्, विश्वविद्यालयमा प्रहरी होइन प्राध्यापक पठाऊ, ओइ सरकार ओइ, विद्यालय शिक्षा विधेयक खोइ ? लगायतका नारासहित पम्पलेट प्रदर्शन गरेका हुन् ।
अखिल (क्रान्तिकारी)का विद्यार्थी नेता मदन ढकालले संयुक्त विद्यार्थी संगठनको तर्फबाट विरोध प्रदर्शनस्वरूप मार्चपास गरिएको बताए ।
उनले भने, ‘जनतालाई महँगीको मारमा पारिएको छ, सुकुम्बासीको उठीबास गराइएको छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिएको छैन । यी सबै विषयमा सरकारलाई ध्यानाकर्षण गराउन हामीले विरोधसभा र मार्चपास गरेका हौं।’
ढकालले आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनमार्फत विभिन्न क्याम्पसहरूमा कार्यक्रम र गतिविधि सञ्चालन गरिने पनि बताए ।
उनले भने, ‘आज हामीले मार्चपास गरिसकेपछि अब आगामी दिनमा स्वतन्त्र विद्यार्थी युनियनको माध्यमबाट विभिन्न क्याम्पसहरूमा आफ्नो कार्यक्रम र गतिविधि गर्नेछौं । धारा १७ लाई ख्याल नगरी सरकारले विद्यार्थी संगठनलाई खारेज गर्ने भन्दै अपवाह फैलाइएको छ, त्यो खेदजनक छ ।’
यस्तै, विद्यार्थी नेतृ ममता अधिकारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर आन्दोलन रोक्न नसकिने बताइन् ।
उनले भनिन्, ‘विद्यार्थी संगठन कसैले प्रतिबन्ध लगाउँदैमा लाग्ने पनि होइन । हिजोका दिनमा पनि लोकतन्त्र स्थापनाका लागि जनताहरू आफ्नो स्तरबाट संगठित भएर देशमा भएका निरंकुश राजतन्त्रात्मक व्यवस्थालाई फालेको इतिहास हामीसँग छ । विद्यार्थी आन्दोलन सरकारको कुनै डायरीबाट निस्केको होइन । विद्यार्थी आन्दोलन र विद्यार्थी संगठनमाथिको प्रतिबन्ध लोकतन्त्रमाथिको प्रहार हो ।’