नेपालमा मेरो व्यावसायिक यात्रा सुरु भएको करिब ९ महिना मात्र भयो, तर विगतमा पाकिस्तान, भारत र बंगलादेशमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेकाले मलाई यहाँ नियमित रूपमा आउने मौका मिलेको थियो।
मैले गएको साउन र भदौ महिनामा नेपालमा व्यवसाय र बजारको भ्रमण सुरु गरेको थिएँ र कात्तिकमा यहाँ सरेको थिएँ। यो मेरो क्यालेन्डरमा सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४) मा घटेका महत्वपूर्ण घटनाहरू भन्दा केही पछि मात्र थियो।
म आफूलाई निकै भाग्यमानी र विशेष महसुस गर्छु किनकी यहाँको परिवर्तनको साक्षी बन्न पाएको छु। तर, यस्तो परिवर्तन मेडागास्कर, केन्या वा श्रीलंकामा भएको छैन। यो हंगेरी वा न्यूयोर्क सहरमा हुन सक्ला, तर यहाँ जे भयो त्यो निकै विशिष्ट छ।
नेपालमा एउटा स्पष्ट परिवर्तन देखिएको छ, जुन अविश्वसनीय र दुःखद् दुवै खालका घटनाहरूको जगमा सुरु भएको थियो। ती घटनाले ६ महिनापछि सेप्टेम्बरमा ब्यारिकेडहरूमा उभिनेहरूको हितलाई प्रतिनिधित्व गर्ने एउटा दृढ र बलियो बहुमतको सरकार निर्माण गर्ने बाटो खोलिदियो। यो आफैँमा अनुपम र उल्लेखनीय छ।
म मेरो टोलीलाई सधैँ भन्ने गर्छु, परिवर्तनले हामीलाई एउटा कुरा सम्झाएको छ– बजार एक्लै सञ्चालन हुँदैन। व्यवसायहरू सामाजिक–आर्थिक र पुस्तागत परिवर्तनहरूसँग घनिष्ठ रूपमा जोडिएका हुन्छन्। हामी यसका दर्शक मात्र होइनौँ, बरु सक्रिय पात्र हौँ।
गत हप्ता मलाई हार्वर्ड र एमआईटीमा नेपालको भविष्यका बारेमा आयोजित सम्मेलनमा बोल्ने अवसर मिल्यो। उक्त कार्यक्रम एमआईटी र हार्वर्डका विद्यार्थी र स्वयंसेवकहरूले आयोजना गरेका थिए, जहाँ २५० जना छानिएका पाहुनाहरू सहभागी थिए। त्यहाँ उपस्थित अधिकांश युवाहरू बोस्टन वरपरका विभिन्न विश्वविद्यालयका थिए। तपाईँलाई थाहै छ, बोस्टन क्षेत्रमा मात्रै ८१ वटा विश्वविद्यालय छन्। संयुक्त राज्य अमेरिका र संसारभरका पाहुनाहरू नेपालमा भइरहेको परिवर्तनबाट निकै आकर्षित देखिएका थिए।
त्यो कोठामा देखिएको ऊर्जा र संलग्नता, अनि नेपाली वा नेपाली मूलका सहभागीहरूको माया र जोश स्पष्टै झल्किन्थ्यो। विगत केही महिनादेखि म हाई स्कुल र कलेजका युवाहरूसँग निरन्तर संवाद गरिरहेको छु, किनभने उनीहरू नै मेरा मुख्य ग्राहक हुन्। हामी उनीहरूकै लागि सेवाहरू निर्माण गर्छौँ। म के महसुस गर्छु भने, यो नयाँ पुस्ताको अपेक्षा निकै उच्च छ।
उनीहरू उत्तरदायित्व, स्पष्ट उद्देश्य, उत्कृष्ट डिजिटल सेवा र प्रामाणिक संलग्नताको माग गर्छन्। व्यावसायिक समुदायका लागि यो केवल अवसर मात्र होइन, बरु एउटा गहिरो जिम्मेवारी पनि हो। इतिहास साक्षी छ– त्यही व्यवसाय सफल र लचिलो हुन्छ, जसले अवरोधलाई खतराका रूपमा होइन, विकासको संकेतका रूपमा लिन्छ।
हामीले बृहत्तर चित्रलाई ध्यानमा राख्न आवश्यक छ। हामीले दिने सेवा र समाज, समुदाय, विशेष गरी युवाहरूमाझ व्यवसायले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने कुरामा हामी विकसित हुनुपर्छ। यो कुरा मभन्दा बढी तपाईँलाई थाहा छ। हाम्रो कम्पनीको प्रतिष्ठामा पनि केही सुधारको आवश्यकता छ, जुन म आफैँ पनि अनुभव गरिरहेको छु।
विगत ९ महिनाका घटनाक्रमले आशा र उत्साहका नयाँ अवसरहरू सिर्जना गरेका छन्।
यो अनुपम नेपाली अनुभव अहिले बोस्टनमा मात्र होइन, विश्वभरकै सामाजिक र राजनीतिक बहसको केन्द्रमा छ। व्यक्तिगत रूपमा भन्नुपर्दा, मेरा तीन सन्तान छन्, जसमा दुई ‘जेन एक्स’ र एक ‘जेन अल्फा’ छन्। म मेरा ९ जना भतिजी र भतिजाहरूका लागि पनि पिता समान छु। प्रार्थनास्वरुप, ती ९ मध्ये ७ जना छोरीहरू हुन्। उनीहरु पनि यही कुरा नै गर्न चाहान्छन् । मेरो अनलाइन सामाजिक समूहहरूमा, चाहे त्यो एसिया होस् वा उत्तरी युरोप र अफ्रिकाका सहकर्मीहरू, सबैले मलाई एउटै कुरा सोध्छन्– ‘नेपालमा अचेल के भइरहेको छ?’ तपाईँहरूले विश्वभरका युवाहरूमा पार्नुभएको प्रभावलाई कम नठान्नुहोस्। यसै सन्दर्भमा म चारवटा मुख्य बुँदाहरू राख्न चाहन्छु।
पहिलो, सेप्टेम्बरमा शहीद भएकाहरूप्रति गरिएको वाचा पूरा गर्ने। नयाँ सरकारले सार्वजनिक रूपमा प्रतिबद्धता जनाएका योजना र घोषणापत्र कार्यान्वयन गर्नु उनीहरूको मात्र काम होइन, उनीहरूले यो एक्लै गर्न पनि सक्दैनन्। यो कुनै एक मन्त्री वा सरकारको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा अभियान हो। यो एउटा लामो र समृद्ध इतिहास बोकेको देशलाई रूपान्तरण गर्ने एउटा पवित्र विश्वास हो।
दोस्रो, समय हाम्रो मित्र हैन, त्यसैले हामीले छिटो काम गर्नुपर्छ। तर, धैर्यता पनि उत्तिकै आवश्यक छ। सबै कुरा एकैपटक सम्भव हुँदैन, त्यसको एउटा निश्चित प्रक्रिया र समय हुन्छ। युवाहरू स्वभावैले अधीर हुन्छन्, तर उनीहरूले यो पनि बुझ्छन्, चिजहरु तीब्र गतिमा हुनुपर्छ पर्छ र त्यसको एउटा गति हुनुपर्छ।
तेस्रो, जोखिम मोल्ने क्षमता आवश्यक छ। नीतिगत र सुशासनको दृष्टिकोणबाट केही नयाँ जोखिमहरू लिनुपर्ने हुन्छ। हामीले पहिले नगरेका कामहरू अब गर्नुपर्नेछ। यसो गर्दा गल्तीहरू पनि हुन सक्छन्, त्यसैले क्षमा गर्ने भावना पनि राख्नुपर्छ। सानो गल्तीमा मानिसहरूमाथि जाइलाग्नुभन्दा ठूलो लक्ष्यलाई ध्यानमा राखेर समाज र अर्थतन्त्रको परिवर्तनमा जुट्नुपर्छ।
चौथो, नयाँ सरकारले अघि सारेका परिवर्तनहरूका लागि देशमा गहिरो प्राविधिक क्रान्ति आवश्यक छ। १०० बुँदे योजना वा अन्य अल्पकालीन सूचीहरूको समीक्षा गर्दा के स्पष्ट हुन्छ भने, नेपालले आफ्नो ‘प्रविधि ऋण’ लाई सम्बोधन गर्नैपर्छ। आजको विश्वमा दूरसञ्चार समाजको आधारशिला हो। यसले विगत ३०–४० वर्षमा चिकित्सा र विद्युतीकरण जस्तै मानिसको जीवनस्तरमा ठूलो परिवर्तन ल्याएको छ।
हाम्रो उद्योगले त्यो कपडा बुन्ने काम गर्छ, जसमा आधुनिक समाज र उद्योगहरू निर्माण हुन्छन्। हामी यसलाई केवल व्यापार मात्र होइन, एउटा सेवाका रूपमा लिन्छौँ। नेपाल दूरसञ्चार सञ्जाल र अत्याधुनिक डाटा सेन्टरहरूमा लगानी गर्न पछाडि परेको छ। डिजिटल मुद्रा वा एआईजस्ता क्षेत्रमा हामी निकै पछाडि छौँ। अब डिजिटल कनेक्टिभिटी ऐच्छिक विषय रहेन, यो आधारभूत आवश्यकता भइसक्यो।
म नम्रताका साथ भन्न चाहन्छु, नेपालमा अझै पनि लाखौँ ग्राहकहरू २जी उपकरणमा छन् र ४जी नेटवर्क पनि तुलनात्मक रूपमा कमजोर छ। जबकि विश्व ६जीको तयारीमा छ। नोकिया, एरिक्सन, ह्वावे र जेडटीई जस्ता कम्पनीहरूले हामीलाई भविष्यतर्फ धकेलिरहेका छन्, तर हामी अझै सुरुवाती रेखामा पनि छैनौँ। नेपालको भौगोलिक बनावट र जनसांख्यिकीय लाभलाई हेर्दा डिजिटल अर्थतन्त्रले परम्परागत अवरोधहरूलाई चिर्दै अघि बढ्ने ठूलो अवसर दिएको छ।
हाम्रो मुख्य एजेन्डा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नु हो। विदेशी लगानीकर्ताका लागि नेपाललाई एक प्रतिस्पर्धी गन्तव्य बनाउन डिजिटल पूर्वाधारको विकास अनिवार्य छ। मैले पाकिस्तान, बंगलादेश, केन्या र अफ्रिकाका धेरै देशमा यस्तै अनुभव बटुलेको छु। विदेशी लगानी भित्र्याउन हाम्रो प्रस्ताव बलियो हुनुपर्छ, जसमा हामी अझै धेरै काम गर्न बाँकी छ।
अन्त्यमा, मेरो कम्पनी एनसेलको आर्थिक अवस्था निकै बलियो छ। हाम्रो ऋण र आम्दानीको अनुपात निकै राम्रो छ र हामीसँग पर्याप्त नगद प्रवाह छ। हामी प्रविधिमा रहेको खाडल पुर्न र नयाँ क्षमताहरू निर्माण गर्न ठूलो मात्रामा पूँजी लगानी गर्न तयार छौँ। हामीले २५० मेगावाटको डाटा सेन्टर र गिगाबिट फाइबर इन्टरनेटका लागि आह्वान गरिसकेका छौँ।
हामी चाँडै नै ‘स्ट्यान्डअलोन ५जी’ नेटवर्क ल्याउने तयारीमा छौँ। हामी दोस्रो दर्जाको सेवामा चित्त बुझाउँदैनौँ, बरु आफ्ना ग्राहकलाई ५जी को वास्तविक अनुभव दिलाउन चाहन्छौँ। एसिया, युरोप र अमेरिकाका धेरै साझेदारहरू अहिले नेपालमा लगानी गर्न इच्छुक छन्। यस्ता दीर्घकालीन लगानीका लागि नियामक र सरकारको सहमति आवश्यक हुन्छ।
हामी एनसेलको तर्फबाट नेटवर्क विस्तारमा निरन्तर लगानी गर्नेछौँ। आवश्यक स्वीकृति पाएपछि हामीले करिब २०० देखि २५० मिलियन डलर लगानी गर्नुपर्नेछ। हामीले ५जी परीक्षणका लागि तीन पटक आवेदन दिइसकेका छौँ। हामी आफूलाई नेपालको डिजिटल रूपान्तरणको दीर्घकालीन साझेदार ठान्छौँ। नेपालको ठूलो वैदेशिक लगानीकर्ताका रूपमा हामीले यहाँको भविष्यमा सधैँ विश्वास गरेका छौँ।
हाम्रा हजारौँ शैक्षिक संस्थाहरूमा अझै इन्टरनेट पहुँच छैन। साना व्यवसाय र वैदेशिक लगानीले नै देशको वार्षिक ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मद्दत गर्नेछन्। हाम्रो भूमिका दुई प्रकारको छः आर्थिक वृद्धिको आधार तयार गर्ने र विदेशमा नेपालको लगानीको वातावरणबारे सकारात्मक सन्देश फैलाउने। नेपालमा रहेका विदेशी लगानीकर्ताहरू नै यहाँका लागि सबैभन्दा भरपर्दा राजदूत हुन्।
माननीय मन्त्रीज्यू (अर्थमन्त्री स्वर्णिम वाग्ले), बोस्टनमा तपाईँको भौतिक उपस्थिति नभए पनि तपाईँको सम्बोधनले त्यहाँका युवाहरूमा जुन ऊर्जा भर्यो, त्यो हृदयस्पर्शी थियो। तपाईँ बोल्दै गर्दा युवाहरूको अनुहारमा देखिएको मुस्कानले निकै ठूलो अर्थ राख्थ्यो। हामी अर्को वर्षको कार्यक्रमको योजना बनाउँदैछौँ र आशा छ त्यसमा तपाईँको उपस्थिति रहनेछ। तपाईँले त्यो हलमा जुन ऊर्जा भर्नुभयो, त्यो विरलैले मात्र गर्न सक्छन्।
मैले त्यहाँका युवाहरूलाई एउटा चुनौती दिएको छु– तपाईँहरु स्वदेश फर्कनुहोस् । ‘कल्पना गर्नुहोस्, यदि यी हजारौँ दक्ष नेपाली युवाहरू आफ्नो देश फर्केर प्रत्येकले १०० जनालाई रोजगारी दिने व्यवसाय सुरु गरे भने के होला?’ तब ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य निकै सानो लाग्नेछ। यो सबै हामीमा निर्भर गर्छ। मन्त्रीज्यूले वातावरण बनाइदिनुहुनेछ, तर उनीहरूलाई फर्केर काम गर्ने अवसर दिनु हामी व्यवसायीहरूको जिम्मेवारी हो।
आर्थिक रूपान्तरण कुनै एउटा नीति वा लगानीको मात्र परिणाम होइन, यो निरन्तर सहकार्यको फल हो। म उद्योगी साथीहरूलाई पनि बृहत्तर रूपमा सोच्न आग्रह गर्दछु। हाम्रा सानातिना समस्या र नियमहरूका बारेमा त छलफल भइरहन्छ नै, तर मुख्य कुरा नेपालीहरूको सीप र पूँजीलाई स्वदेश फर्काउनु हो।
(एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको कार्यक्रममा बोलेका कुराको सम्पादित अंश)