काठमाडौँ । सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने विदेशी पर्यटक घटेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत महिना १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका हुन् ।
यो गत वर्षको सोही महिनाको तुलनामा ७ दशमलव ३ प्रतिशत अर्थात् १३ हजारले कम हो । सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार बढी पर्यटक नेपाल आएका थिए ।
गत अप्रिलमा सबैभन्दा धेरै पर्यटक सार्क राष्ट्रहरूबाट आएको देखिन्छ । सार्क मुलुकबाट अप्रिलमा ३३ हजार ४३२ पर्यटक नेपाल भित्रिएका छन् । यो नेपाल भित्रिएका कुल पर्यटकको ३१ प्रतिशत हो ।
अन्य एसियाली देशहरूबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८ र ओसिनियाबाट ५ हजार ८९८ पर्यटक आएका छन् ।
यस्तै, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।
देशगत रूपमा हेर्दा सबैभन्दा धेरै पर्यकट भारतबाट भित्रिएका छन् । अप्रिलमा भारतबाट १५ हजार १९६ पर्यटक आएका छन् । त्यसपछि चीनबाट ११ हजार ७२२, बंगलादेशबाट ५ हजार २३१, बेलायत ४ हजार ८८६, जर्मनी ३ हजार १४३, मलेसियाबाट ३ हजार ८५, म्यानमारबाट २ हजार ६२६ र थाइल्यान्डबाट २ हजार २०१ पर्यटक नेपाल भित्रिएका छन् ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडानमा अवरोध, हवाई पहुँचमा समस्या तथा प्रवर्द्धन गतिविधिमा असर परेकाले अप्रिल महिनाको आगमनमा कमी आएको पर्यटन बोर्डको निश्कर्ष छ ।