काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनबाट युवा व्यवसायी सागर ढकाल केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् । वस्तुगत समूहबाट उम्मेदवारी दिएका ढकालले ६८ मतसहित दोस्रो उच्च मत प्राप्त गर्दै सफलता हासिल गरेका हुन् ।
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्षसमेत रहेका ढकालले नरेशलाल श्रेष्ठ समूहबाट उम्मेदवारी दिएका थिए । निर्वाचनपछि उनले आफूलाई प्राप्त विश्वासले थप जिम्मेवार बनाएको उल्लेख गर्दै निजी क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै, ढकालले देशको आर्थिक सुधार, लगानी प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन् । वस्तुगत संघअन्तर्गत देखिएका कानुनी र व्यवहारिक समस्याहरू समाधान गर्न महासंघमार्फत सरकारसँग समन्वय, बहस तथा नीतिगत पहल अघि बढाइने उनको प्रतिबद्धता छ ।
उनले नेपालको पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । करिब ५० खर्ब रुपैयाँ बराबरको मार्केट क्याप भएको पुँजी बजारलाई अब समग्र अर्थतन्त्रको प्रतिबिम्बका रूपमा विस्तार गर्नुपर्ने उनको धारणा छ ।
ढकालले धितोपत्र ऐन २०६३ तथा सम्बन्धित नियमावलीहरूलाई समयानुकूल परिमार्जन गर्न पहल गर्ने समेत बताएका छन् । साथै, मार्जिन ट्रेडिङ, इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र इक्विटी डेरिभेटिभ्स जस्ता आधुनिक वित्तीय उपकरण सञ्चालनमा ल्याउन धितोपत्र बोर्डसँग सहकार्य गर्ने योजना रहेको उनले सुनाए । कमोडिटी, फरेन करेन्सी र बुलियन एक्सचेन्ज स्थापनाका लागि पनि पहल गरिने उनको भनार्इ छ ।
साना तथा मझौला उद्यमीहरूलाई सहज रूपमा पूँजी जुटाउने वातावरण बनाउन एसएमई प्लेटफर्म र ओटी मार्केटलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । साथै, गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न स्पष्ट र सरल नीति निर्माणमा सरकारसँग सहकार्य गर्ने लक्ष्य पनि उनले अघि सारेका छन् ।
पुँजी बजारबाहेक जलविद्युत्, होटल, पर्यटन र कृषि क्षेत्रमा समेत सक्रिय रहेका उनी बहुआयामिक व्यवसायिक अनुभव बोकेका युवा उद्यमीका रूपमा चिनिन्छन्।