काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकैपटक १२ वटा कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले पञ्जिकाधिकारीस्तरीय निर्णयमार्फत ती युनियनहरूको कानुनी मान्यता समाप्त गरिएको जनाएको हो ।
खारेजीमा परेका संगठनहरूमा विभिन्न राजनीतिक दल निकट मानिने नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन समावेश छन् ।
यस्तै, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालको दर्ता पनि रद्द गरिएको विभागले जनाएको छ ।
निजामती सेवा ऐन, २०४९ (दोस्रो संशोधन २०६४) अन्तर्गत दर्ता भएका यी राष्ट्रियस्तरका संगठनहरूका साथै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन २०७०) बमोजिम गठन भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनसमेत खारेजीमा परेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै जारी ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ मार्फत निजामती सेवा ऐनमा रहेका ट्रेड युनियनसम्बन्धी प्रावधान हटाइएपछि यी संगठनहरूको वैधानिक आधार समाप्त भएको थियो । सोही कानुनी परिवर्तनअनुसार श्रम ऐनअन्तर्गत दर्ता भएका युनियनहरूको अस्तित्व पनि स्वतः अन्त्य भएको विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार उक्त निर्णयसँगै सम्बन्धित सबै ट्रेड युनियनहरूको औपचारिक दर्ता अब प्रभावहीन भएको छ ।