काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनामा आर्थिक अनियमितता भएको निष्कर्ष निकाल्दै पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले ठेक्का सम्झौतामा उल्लेख नभएको सुविधा निर्माण कम्पनीलाई उपलब्ध गराएर राज्यको राजस्वमा नोक्सानी पुर्याइएको आरोप लगाएको छ । आयोगका अनुसार निर्माण प्रक्रियामा संलग्न उच्च पदस्थ अधिकारीहरूले नियमविपरीत कर तथा राजस्व छुट स्वीकृत गर्दा ठूलो आर्थिक क्षति भएको देखिएको छ ।
निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्याएको अभियोगमा आयोगले मुद्दा दर्ता गराएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
मुद्दामा तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम, निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलगायत विभिन्न कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।
यसका साथै परियोजनामा संलग्न चिनियाँ निर्माण कम्पनी सीएएमसी, कम्पनीका अध्यक्ष, परियोजना व्यवस्थापक तथा व्यवस्थापन तहका अन्य प्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएका अनियमितताबारे अख्तियारले पछिल्लो समय अनुसन्धानलाई तीव्र बनाउँदै आएको छ ।
यसअघि गत मंसिर २१ गते पाँच पूर्वमन्त्रीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियो भने चैत ८ गते पनि सोही परियोजनासम्बन्धी अर्को मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । आजको मुद्दासहित यो प्रकरणमा दायर मुद्दाको संख्या तीन पुगेको छ ।