काठमाडौँ । कम तौल राखेर छहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल बजार पठाउने गरेको खुलेको छ । कम तौल राखेर उपभोक्ता ठगी गरिरहेको उजुरीपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले एक प्याकेट तेलमा २० देखि २५ मिलिटिर कम तेल रहेको देखाएपछि प्रहरीले ओमकार आयल इन्डस्ट्रिजका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार तेलको प्याकेजिङमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्ता झुक्याएको भेटिएपछि श्रेष्ठ पक्राउ परेका हुन् ।
ललितपुरको गोदावरी–५, लेलेस्थित उद्योगमा छापा मार्दा प्रहरीले ९०५ कार्टुन सूर्यमुखी तेल समेत बरामद गरेको छ । अनुसन्धानका क्रममा प्याकेटमा लेखिएको परिमाण र वास्तविक तौलमा फरक देखिएको प्रहरीको दाबी छ ।
थप अनुसन्धानका लागि सञ्चालक श्रेष्ठ र बरामद सामग्री जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।