• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सेयर बजारमा ठगीधन्दा ! सिटी होटलको करोडौँको ठगीधन्दा सीआईबीको घेरामा

काठमाडौं । गोल्यान ग्रुपको मुख्य लगानी रहेको सिटी होटल लिमिटेडले सेयर बजारमा गरेको गम्भीर अनियमितता र डरलाग्दो ठगीधन्दाको पर्दाफास भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को छानबिन र सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले पठाएको विवरणबाट कम्पनीले प्रणालीको दुरुपयोग गरी सर्वसाधारण लगानीकर्तालाई करोडौँ ठगेको तथ्य बाहिर ल्याएको हो।

प्रचलित कानुनअनुसार कम्पनीको आईपीओ बाँडफाँट भएको तीन वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाइने (लक-इन अवधि) अनिवार्य व्यवस्था छ। तर, शक्तिकुमार गोल्यान अध्यक्ष र अक्षय गोल्यान कार्यकारी निर्देशक रहेको यो होटलले उक्त कानुनी व्यवस्थालाई लत्याउँदै अवधि नपुग्दै संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा बदलेर बिक्री गरेको भेटिएको छ।

अझ गम्भीर विषय त के छ भने, सिटी होटलले संस्थापक र सर्वसाधारण सेयरका लागि छुट्टाछुट्टै हुनुपर्ने ‘आइएसआईएन’ (ISIN) नम्बरलाई एउटैमा मिसाएर प्राविधिक प्रणालीको चरम दुरुपयोग गरेको छ। सिडिएससीले सीआईबीलाई पठाएको पत्रअनुसार कम्पनीले जानाजानी संस्थापक सेयरलाई सर्वसाधारण समूहमा मिसाएर राखेको थियो। जसका कारण सामान्यतया १०० रुपैयाँको हाराहारीमा मूल्य हुनुपर्ने संस्थापक सेयरलाई सर्वसाधारण सेयरकै बजार मूल्यमा देखाएर प्रतिकित्ता २५१ देखि ४६९ रुपैयाँसम्ममा अक्सनमार्फत सर्वसाधारणलाई भिराइएको छ। यसरी जालझेलपूर्ण तरिकाले महँगो मूल्यमा सेयर बेचेर कम्पनीले सर्वसाधारण लगानीकर्ताको गोजी रित्याउने काम गरेको सिडिएससीको ठहर छ।

लक-इन अवधिमा रहेको हकप्रद सेयरसमेत हस्तान्तरण गर्न नमिल्ने अवस्थामा अक्सनमार्फत बिक्री गरिनुलाई सिडिएससीले ‘कानुन र प्रणालीको दुरुपयोग गरी जनता ठगेको अवस्था’ भनेर किटान गरेको छ। यो प्रकरण बाहिरिएपछि अहिले सीआईबीले थप अनुसन्धान अघि बढाएको छ भने धितोपत्र बोर्डले पनि यसमाथि छानबिन गरिरहेको छ।