काठमाडौं । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने जानकारी दिए ।
त्यस्तै, पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्ड अनुसार विकास गरिने पनि उनले बताए ।
उनले भने, ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्यूच्यूअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ र पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने छ । धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने छ ।’
उनको अनुसार सरकारले साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच सहज बनाइने उल्लेख गरिएको छ ।
सहकारी बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष
यसैगरी, सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने भएको छ ।
राष्ट्रपति पौडेलले समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापनागरी कर्जा अशुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने जानकारी दिए ।
उनले भने, ‘समस्याग्रस्त सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापनागरी कर्जा अशुलीमार्फत बचतकर्ताको रकम फिर्ता गरिने छ ।’
त्यस्तै, उनले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित, पारदर्शी र राजस्व चुहावटमुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने पनि जानकारी दिए ।
उनका अनुसार सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने भएको छ ।