• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रतिनिधि सभाको बैठक पुन: स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक पुन स्थगित भएको छ । विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको खाज्दै बैठक अवरोध गरेपछि सभामुख डोलप्रसार अर्यालले दोस्रो पटक १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन् ।

योसँगै आज मात्रै प्रतिनिधि सभाको बैठक दोस्रो पटक स्थगित भएको हो । बुधबार केही समय स्थगित भएको बैठक पुनः सुरु भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री शाहको तर्फबाट नीति तथा कार्यक्रममाथि छलफल अगाडि बढाउने प्रस्ताव संसद्मा पेश गरेका थिए । तर नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने प्रस्ताव प्रस्तुत गरिए पनि प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले विरोध जारी राखेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै सभामुखसँग रूलिङ गर्न आग्रह गरे । उनले संसद्को निरन्तरता र निकास चाहेको उल्लेख गर्दै प्रधानमन्त्री सदनमा आउने विश्वास दिलाउन सभामुखको हस्तक्षेप आवश्यक रहेको बताए ।

नेकपा एमालेकी सांसद पद्मा अर्यालले पनि नीति तथा कार्यक्रमको मुख्य जिम्मेवारी प्रधानमन्त्रीकै भएकाले सदनमा आएर जवाफ दिनुपर्ने बताइन् ।

सभामुख अर्यालले भने प्रधानमन्त्रीको उपस्थितिबारे प्रधानमन्त्रीसँग संवाद गर्ने बताएपनि रूलिङ भने गरेनन् । उनले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी गराउँदै बैठक सञ्चालनका लागि सहयोग गर्न विपक्षी दलहरुलाई आग्रह गरिरहे ।

सभामुखको आग्रहपछि पनि विपक्षी सांसदहरू उभिइरहेपछि बैठक स्थगित गरिएको हो ।