काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको विस्तृत खर्च विवरण सार्वजनिक गरेको छ । मंगलबार आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचनमा भएको कुल खर्च र सरकारबाट प्राप्त बजेटबारे जानकारी दिएका हुन् ।
आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ बजेट उपलब्ध गराएको थियो । सो बजेटमध्ये निर्वाचन सम्पन्न गर्न ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार निर्वाचनका लागि आवश्यक जनशक्ति परिचालन, मतदान सामग्री व्यवस्थापन, सुरक्षा समन्वय, मतगणना तथा प्रशासनिक व्यवस्थापनलगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च गरिएको हो ।
यस निर्वाचनमा देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए । आयोगका अनुसार समग्र खर्चलाई मतदाता संख्यासँग तुलना गर्दा प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च भएको देखिएको छ। आयोगले निर्वाचन व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरिएको पनि जनाएको छ ।
