• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

सहकारी बैंकको निर्वाचनमा प्रमुख दलबीच तालमेल, एमालेको ‘निर्देशन पत्र’को चर्चा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रिय सहकारी बैंक लिमिटेडको आगामी निर्वाचनमा अन्य प्रमुख राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेसँगै यतिबेला यो विषय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ।

एमालेको केन्द्रीय कार्यालयले आफ्ना मातहतका कमिटीहरूलाई जारी गरेको एक आन्तरिक परिपत्र सार्वजनिक भएपछि यसले नयाँ बहस सिर्जना गरेको हो। कार्यालय सचिव डा. भीष्म अधिकारीद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा आगामी जेठ ९ गते शनिबार हुने बैंकको निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच साझा उम्मेदवार उठाउने सहमति भएको उल्लेख छ।

विज्ञप्ति अनुसार, देशभरका ८ हजार ६ सय ७९ सहकारी संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुने यस निर्वाचनमा बागमती प्रदेशका लागि क. परितोष पौडेललाई तीन दलको साझा उम्मेदवार बनाइएको छ। अन्य प्रदेशहरूमा भने यसअघि नै निर्विरोध निर्वाचन सम्पन्न भइसकेको एमालेले जनाएको छ।

पार्टीले आफ्ना सबै प्रदेश र जिल्ला कमिटीहरूलाई निर्देशन दिँदै साझा उम्मेदवारलाई विजयी गराउनका लागि आवश्यक समन्वय र प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ।
यस विज्ञप्ति सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्।