• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सरकारले नखान र फिर्ता गर्न भनेको करेन्ट र लाली चाउचाउ बजारमा निर्बाध बिक्री

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते करेन्ट र लाली चाउचाउका सम्बन्धमा एक आदेश जारी गर्‍यो ।

विभागले करेन्ट र लाली चाउचाउमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूपको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको ठहर गरेको थियो ।

यसैलाई कारण बनाउँदै विभागले उत्पादक कम्पनी यशोधा फुड्स प्रालिलाई दुवै ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न समेत भन्यो ।

“यस विभागमा अन्तर्गतको निकायबाट बजार अनुगमन निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलन गरिएको नमुनाको परीक्षणबाट उत्पादित उक्त खाद्य पदार्थ (१०० ग्रामको करेन्ट चाउचाउ र ५० ग्रामको लाली चाउचाउ) मा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्री वितरण नगर्न नगराउनु हुन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ,” विभागको आदेशमा भनिएको छ ।

विभागले करेन्ट चाउचाउको हकमा ब्याच नम्बर ०४ए तथा उत्पादन मिति २०२६/०२/२३ र लाली चाउचाउका हकमा ब्याच नम्बर ०२ए तथा उत्पादन मिति २०२६/०२/२२ उल्लेख गरेको छ । अर्थात्, यी ब्याच नम्बर र उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ खान योग्य छैनन् ।

तर खान अयोग्य भए पनि उल्लेखित ब्याच नम्बर र उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ बजारमा निर्बाध विक्री भइरहेको पाइएको छ । विभागले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिए पनि उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ती उत्पादनहरू फिर्ता गरेको छैन । यसले गर्दा काठमाडौँका डिपार्टमेन्ट स्टोरसँगै किराना पसलहरूमा दुवै ब्याच तथा उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ निर्बाध बिक्री भइरहेको हो ।

विक्रेताहरूले आफूहरूलाई विभागको आदेशबारे कुनै जानकारी नभएको र वितरक कम्पनीले समेत फिर्ता नलगेको बताए ।

“खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आदेशबारे हामीलाई थाहा छैन । कसैले केही भनेको पनि छैन, मैरोमा त करेन्ट चाउचाउ पहिलेको झैँ बिक्री भइरहेकै छ,” काठमाडौँ नयाँ बानेश्वरस्थित एक किराना सञ्चालकले भने ।

अर्का एक डिपार्टमेन्ट स्टोर सञ्चालकले भने विभागको आदेश सञ्चारमाध्यममा देखेको भए पनि कम्पनीले फिर्ता नगरेको कारण ती चाउचाउ खोज्न आउनेहरूलाई बेचिरहेको बताए ।

उनले भने, “मिडियामा करेन्ट र लाली चाउचाउ नखानु र फिर्ता गर्नु भनेर सरकारले भनेको सूचना त पढेको थिएँ । तर खै कम्पनीले फिर्ता लगेको छैन । किन्न आउनेलाई मैले बेचिरहेकै छु । ”

उनले सरकारले नखानु भने पनि उपभोक्ता यसबारे अनविज्ञ रहेको पाएको समेत बताए ।

“सरकारले नखानू भनेको कुरा चाउचाउ किन्न आउनेहरूलाई थाहा नभएको जस्तो देखिन्छ । यी चाउचाउ खाँदा उनीहरूको स्वास्थ्यमा पार्ने असरको जिम्मा त फिर्ता नलैजाने यशोदा फुड्स प्रालि नै लिनुपर्छ,” उनले भने ।

सम्बन्धित समाचार 

करेन्ट र लाली चाउचाउ बहिस्कार ट्रेन्ड, बरेङ गाउँपालिकाले निकाल्यो नखान र बजारबाट फिर्ता गर्ने सूचना

सावधान ! करेन्ट र लाली चाउचाउ खान अयोग्य, बजारबाट तुरुन्त फिर्ता गर्न सरकारको निर्देशन