• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रधानमन्त्री खोज्दै रोष्ट्रममा विपक्षीको विरोध, सभामुखले रोकेनन् बैठक

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले तीव्र विरोध जनाए पनि सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाएका छन्।

प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउनुपर्ने माग गर्दै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका विपक्षी सांसदहरूले बैठक सुरु भएदेखि नै अवरोध गरेका थिए।

त्यसअघि श्रम संस्कृति पार्टीका सांसदहरूले समेत संसदमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाएको थियो ।

विपक्षी सांसदहरूले निरन्तर प्रधानमन्त्रीको खोजी गर्दै बैठक अवरुद्ध गरेपछि सभामुख अर्याल प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका थिए। त्यसपछि पुनः सुरु गरिएको बैठकमा पनि विपक्षी सांसदहरू रोष्ट्रमतर्फ पुगेर नाराबाजीमा उत्रिएका थिए। तर सभामुखले विरोधकै बीच संसद्को कारबाही सञ्चालनलाई निरन्तरता दिएका हुन्।

विपक्षी दलहरूले भने नीति तथा कार्यक्रमदेखि नै प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको विषय उठाउँदै प्रश्नोत्तर कार्यक्रमसमेत नियमित रूपमा सञ्चालन नभएको भन्दै आपत्ति जनाए।

प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था रहे पनि त्यो कार्यान्वयन नभएको विपक्षीको आरोप छ। विपक्षी र सत्तापक्षबीच यस विषयमा चर्काचर्की भएपछि सभामुखले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर दोस्रो बैठकमा पनि विरोध जारी रहेकै अवस्थामा सभामुख अर्यालले संसद् बैठकलाई अघि बढाएका हुन्।