काठमाडौं । प्रभु बैंकको डेढ अर्ब रुपैयाँ ऋण अपचलन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तारा मानन्धरमाथि अनुसन्धान सुरु गरेको छ।
जानकी मेडिकल कलेजको नाममा प्रवाह भएको १ अर्ब ५० करोड रुपैयाँ ऋण हिनामिना र बैंकिङ कसुरको अभियोगमा मानन्धर अनुसन्धानको घेरामा तानिएका हुन्। मानन्धर केही समयअघि मात्रै मुक्तिनाथ विकास बैंकको सीईओ नियुक्त भएका थिए भने उनी त्यसअघि प्रभु बैंकको उच्च व्यवस्थापनमा कार्यरत थिए।
प्रहरी स्रोतका अनुसार मानन्धरले बेलायतमा बसेर प्रभु बैंकको प्रतिनिधिको रूपमा काम गर्दा अवैध हुण्डी कारोबारमा समेत संलग्न भएको केही तथ्य फेला परेको छ। जानकी मेडिकल कलेजको नाममा भएको यो ऋण अपचलनमा प्रभु बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र तत्कालीन सीईओ अशोक शेरचनसँग मानन्धरको मिलेमतो रहेको आशंका गरिएको छ।
अनुसन्धानका क्रममा भट्टचन र शेरचन पक्राउ परेर अदालतको आदेशमा छुटिसकेका भए पनि प्रहरीले यो प्रकरणमा सूक्ष्म छानबिन जारी राखेको छ। सोही प्रकरणमा जोडिएकी प्रभु बैंककी कर्मचारी रश्मी पन्त भने अझै फरार छिन्।
कम्पनीको विवरण अनुसार २०७२ जेठ २२ गते हरिमान लामा, हरिकृष्ण भट्टचन र धनबहादुर शेरचनले जानकी मेडिकल कलेजको सेयर खरिद गरेका थिए। सोही समूहले कलेजको नेतृत्व लिएपछि नै बैंकबाट डेढ अर्ब रुपैयाँ ऋण निकालिएको देखिएको छ। सेयर खरिदमा पनि आर्थिक गडबडी भएको र सो ऋण रकम कलेजको सुधारमा भन्दा पनि अन्यत्रै प्रयोग भएको आशंका गरिएको छ।
सेयर खरिद गर्नेमध्येका हरिमान लामा नागरिक उड्डयन प्राधिकरणलाई २३ करोड रुपैयाँ तिर्न नसकी चेक बाउन्स भएर फरार रहेका व्यक्ति हुन्। विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा नेतृत्व परिवर्तन भएसँगै यस मुद्दाको अनुसन्धानले थप तीव्रता पाएको छ।