• २०८३ असार १२
  • 2026 June 26, Friday

यस्तो छ एमालेमा नेताहरुको प्रस्तावित वरियताक्रम र जिम्मेवारी

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको आन्तरिक संरचना थप व्यवस्थित बनाउन केन्द्रीय तहका नेताहरूको कार्यविभाजन र पदाधिकारीहरूको बरियताक्रम तय गर्ने प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न विभागका प्रमुख, जनसंगठन इन्चार्ज तथा विशेष फाँटका जिम्मेवारीहरू प्रस्ताव गरेका हुन् भने अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय केन्द्रीय पदाधिकारीको बरियताक्रम पनि प्रस्तुत गरेका छन्।

यी सबै प्रस्तावमाथि आगामी शुक्रबार बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गर्ने जनाइएको छ।

प्रस्तावअनुसार विदेश मामिला विभागको नेतृत्व प्रदीप ज्ञवालीलाई दिने तयारी गरिएको छ भने संसदीय मामिला विभाग प्रमुखमा पद्मा अर्याल र राष्ट्रिय हित संरक्षण विभाग प्रमुखमा हिक्मत कार्कीको नाम अघि सारिएको छ।

संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई प्रस्ताव गरिएको छ भने प्रचार तथा प्रकाशन विभागमा डा सूर्य पाठकलाई ल्याउने तयारी छ। पार्टी स्कुल विभागको नेतृत्व शेरबहादुर तामाङलाई दिने प्रस्ताव गरिएको छ।

त्यस्तै, पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुखमा आनन्द पोखरेल, समाज कल्याण तथा समाजसेवा विभाग प्रमुखमा कल्पना चापागाईं, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा कर्ण थापा तथा युवा तथा खेलकुद विभागमा क्रान्ति बुर्लाकोटीलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

एमालेले संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुखमा गणेश ठगुन्ना, सहकारी तथा गरिबी निवारण विभागमा खेम लोहनी, श्रम तथा रोजगार विभागमा विन्दा पाण्डे तथा भूमि व्यवस्था विभागमा गोकुल बास्कोटालाई प्रस्ताव गरेको छ।

त्यसैगरी, कृषि तथा पशुपन्छी विकास विभागमा ज्वाला साह, खानेपानी तथा सरसफाइ विभागमा ठाकुर गैरे, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा देवेन्द्र दाहाल तथा कानुन विभागमा रमेश बडाललाई जिम्मेवारी दिने तयारी गरिएको छ।

पार्टीले विभिन्न जनसंगठन र विशेष फाँटका इन्चार्जहरू पनि प्रस्ताव गरेको छ। विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख, घनश्याम पाण्डेलाई प्रवासी नेपाली मञ्च युरोप इन्चार्ज तथा रविन्द्र अधिकारीलाई मध्यपूर्व इन्चार्ज बनाउने प्रस्ताव गरिएको छ।
त्यसैगरी, क्षितिज थेवेलाई युवा फाँट, रश्मी आचार्यलाई विद्यार्थी फाँट, कृष्णभक्त पोखरेललाई कानुन फाँट तथा टुकाभद्रा हमाललाई महिला फाँट इन्चार्जको जिम्मेवारी दिने तयारी छ।

यसैबीच, अध्यक्ष ओलीले पार्टीका १९ सदस्यीय केन्द्रीय पदाधिकारीको नयाँ बरियताक्रम पनि प्रस्ताव गरेका छन्। प्रस्तावित सूचीअनुसार ओलीपछि दोस्रो वरियतामा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ रहेका छन्। त्यसपछि विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई क्रमशः उपाध्यक्षहरूको सूचीमा राखिएको छ।

त्यसपछि महासचिव शंकर पोखरेल छन् भने उपमहासचिवहरूमा लहरै लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई प्रस्तावित छन्।
सचिवहरूको वरियता सूचीमा छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत छन्।