काठमाडौँ । भारतीय राजनीतिमा अचम्मको मोड आएको छ । एउटा यस्तो जीव, जसलाई मानिसहरू घृणा गर्छन् र भान्साबाट भगाउन खोज्छन्— ‘साङ्लो’ अर्थात् कक्रोच। अहिले यही कक्रोच भारतीय सामाजिक सञ्जालमा सत्ता र प्रणाली विरुद्धको सबैभन्दा ठूलो प्रतीकात्मक हतियार बनेको छ ।
केही दिन अघिमात्र जन्मिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) कुनै औपचारिक राजनीतिक दल होइन, तर यसले ५ दिनमै इन्स्टाग्राममा १ करोड ९० लाखभन्दा बढी फलोअर्स कमाएर स्थापित राजनीतिक दलहरूलाई समेत झस्काइदिएको छ ।
यसको सुरुवात भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीबाट भयो । एक सुनुवाइका क्रममा उनले कथित रूपमा बेरोजगार युवाहरू, जो पत्रकारिता र एक्टिभिजमतर्फ लागिरहेका छन्, उनीहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको खबर सार्वजनिक भयो । यद्यपि, पछि न्यायाधीशले आफ्नो इशारा ‘नक्कली डिग्री’ भएका व्यक्तिहरूतर्फ मात्र रहेको स्पष्टीकरण दिएका थिए ।
तर, त्यसबेलासम्म निकै ढिलो भइसकेको थियो । न्यायाधीशको सोही शब्दलाई समातेर बोस्टन युनिभर्सिटीमा अध्ययनरत भारतीय विद्यार्थी अभिजीत दीपकेले ‘कक्रोच जनता पार्टी’ नामक एक अनलाइन आन्दोलनको बिउ रोपे । उनले व्यङ्ग्यात्मक रूपमा भने, ‘यदि तपाईं हामीलाई कक्रोच भन्नुहुन्छ भने, ठीक छ, हामी कक्रोच नै हौं र हाम्रो आफ्नै पार्टी हुनेछ ।’
सीजेपीको सदस्य बन्नका लागि राखिएका सर्तहरूले भारतीय युवाहरूको वर्तमान अवस्था र आक्रोशलाई प्रतिविम्बित गर्छन् । यसको सदस्य बन्नका लागि :
१. बेरोजगार हुनुपर्ने ।
२. अल्छी हुनुपर्ने ।
३. सधैँ अनलाइन बसिरहने हुनुपर्ने ।
४. व्यावसायिक रूपमा आफ्नो आक्रोश पोख्न सक्ने क्षमता हुनुपर्ने ।
जुन शब्दहरूले युवाहरूलाई अपमानित गरिएको थियो, तिनै शब्दहरूलाई यस पार्टीले आफ्नो शक्तिको रूपमा प्रयोग गर्यो । नतिजास्वरुप, केही घण्टामै वेबसाइटमा लाखौँ मानिसले सदस्यताका लागि दर्ता गरे ।
प्रख्यात भारतीय राजनीतिक विश्लेषक योगेन्द्र यादव यसलाई केवल एउटा ‘मीम’ वा ‘ठट्टा’ मान्न तयार छैनन् । बीबीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘मजाक सधैँ कुनै न कुनै गहिरो पीडासँग जोडिएको हुन्छ । जब व्यवस्थाका सबै ढोकाहरू बन्द हुन्छन्, तब जनताले विद्रोहका लागि नयाँ र अनपेक्षित बाटो रोज्छन् ।’
यादवले यसलाई १९७४ को जयप्रकाश आन्दोलन वा २०११ को अन्ना हजारे आन्दोलनसँग तुलना गर्दै भनेका छन्, जब सत्ताले संस्थाहरूमाथि कब्जा जमाउँछ, तब यस्तै प्रकारका आन्दोलनहरु सुरु हुन्छन् ।
सीजेपीको बढ्दो लोकप्रियताबाट अत्तालिएको संकेत तब देखियो, जब बिहीबार यसको एक्स (ट्विटर) ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइयो । तर, ‘कक्रोच’ को विशेषता नै के हो भने यसलाई सिध्याउन सजिलो छैन । अकाउन्ट ब्यान भएको केही घण्टामै ‘कक्रोच इज ब्याक’ भन्दै नयाँ ह्यान्डल खडा भयो र त्यसले पनि तुरुन्तै लाखौँ फलोअर्स बटुल्यो ।
योगेन्द्र यादव भन्छन्, ‘तानाशाहहरुलाई सबैभन्दा बढी डर चुट्किलाहरूसँग लाग्छ । जुन सरकारले ठट्टा सुन्न सक्दैन, ऊ आफैँ एकदिन ठट्टा बन्छ । सरकारले यसलाई ब्यान गरेर झन् ठूलो गल्ती गरेको छ, अब यो झन् टाढासम्म पुग्नेछ ।’
सीजेपीको उदयले भारतीय जनता पार्टी (बीजेपी) लाई मात्र होइन, विपक्षी दलहरूलाई पनि चुनौती दिएको छ । युवाहरूले स्थापित विपक्षी दलहरूबाट आशा मारिसकेका कारण नै यस्तो काल्पनिक पार्टीमा भरोसा गरिरहेको शिवसेनाकी नेत्री प्रियंका चतुर्वेदी स्वीकार गर्छिन् ।
कंग्रेस नेता शशि थरूरले पनि यसको बढ्दो क्रेजलाई लोकतन्त्रमा असहमति र व्यङ्ग्यको ठाउँ हुनुपर्ने तर्कका साथ समर्थन गरेका छन् । उता तृणमूल कंग्रेसकी महुआ मोइत्राले सरकार डराएको कारण नै अनलाइन मुभमेन्टलाई रोक्न खोजेको आरोप लगाएकी छिन् ।
आन्दोलनका सूत्रधार अभिजीत दीपके भन्छन्, ‘भारतीय ‘जेन जी’ युवाहरू श्रीलंका वा बंगलादेशमा जस्तो हिंसा भड्काउन चाहँदैनन् । उनीहरू व्यङ्ग्यको माध्यमबाट प्रणालीको खिल्ली उडाउन चाहन्छन् । उनीहरूको घोषणापत्रमा महिलालाई ५० प्रतिशत आरक्षण, न्यायपालिकाको स्वतन्त्रता र वास्तविक रोजगारीका मुद्दाहरू छन् ।
‘हाम्रो पुस्ताले १०–१२ वर्षदेखि केवल हिन्दू–मुस्लिमको उपदेश मात्र सुनेको छ,’ दीपके भन्छन्, ‘अब हामीलाई प्रविधिमा आधारित भविष्य र सम्मानजनक जीवन चाहिएको छ । हामी कक्रोचजस्तो व्यवहार सहन चाहँदैनौँ ।’
– भारतीय सञ्चारमाध्यमको सहयोगमा