काठमाडौँ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृतिको संरक्षण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राजधानीमा ‘घोंघी सांस्कृतिक साँझ २०८३’ आयोजना हुने भएको छ। घोंघी स्टेशन प्रा. लि. को आयोजनामा हुन लागेको यो कार्यक्रम आगामी जेठ १५ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ।
थारु कला, संस्कृति र संगीतको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रममा थारु सांगीतिक क्षेत्रका स्थापित तथा उदयमान कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रममा गायक तथा मोडल राज कुस्मी, गायक नरेश जोगी, गायिका तथा मोडल अन्जु कुस्मी, गायिका सोनु कुस्मी, गायक एवं संगीतकार गणेश चौधरी, गायिका समीक्षा चौधरी, गायक विजय चौधरी र विकास चाैधरीले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरू दिनेछन्।
त्यसैगरी, कार्यक्रमको आकर्षणको रूपमा मोडलहरू रोनी चौधरी, दीपिका कुस्मी, सरोज सुनार, कविता चौधरी भट्टराई र डान्सर सुमिना चौधरीको नृत्य रहनेछ। गायक अनुप मगरले कार्यक्रमको उद्घोषण तथा गायन प्रस्तुति दिनेछन्।
जेठ १५ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म चल्ने यस कार्यक्रमको ‘टाइटल स्पोन्सर’ मा ‘चौधरी दाइको’ रहेको छ भने प्रायोजकमा ‘चौधरी सेकुवा’ रहेको छ। कार्यक्रमलाई सफल पार्न जीए म्यूजिक र आर प्रोडक्सन एण्ड इन्टरटेनमेन्टले पनि सहयोग पुर्याएका छन्।
काठमाडौँमा रहेका थारु समुदाय र नेपाली कला-संस्कृति प्रेमीहरूका लागि यो कार्यक्रम एक महत्वपूर्ण उत्सव हुने आयोजक घोंघी स्टेशन प्रा. लि. को विश्वास छ। थारु खानपान र संस्कृतिको प्रवर्द्धनमा क्रियाशील ‘घोंघी स्टेशन’ ले यस्ता सांस्कृतिक कार्यक्रममार्फत समुदायलाई जोड्ने प्रयास गर्दै आएको छ।