इरानविरुद्धको अमेरिका–इजरायल युद्ध अन्त्य गर्ने सम्भावित सम्झौताप्रति आशा देखिएसँगै तेलको मूल्य तीव्र रूपमा घटेको छ । विश्वव्यापी कच्चा तेलको मूल्यको प्रमुख मापदण्ड ब्रेन्ट क्रुड आइतबार ५ प्रतिशतभन्दा बढीले घटेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वको स्थायी अन्त्यको सम्भावनाबारे मिश्रित संकेत दिएपछि तेल बजारमा यस्तो गिरावट आएको हो ।
जुलाई महिनाका लागि ब्रेन्ट फ्युचर्सको मूल्य प्रति ब्यारेल ९७.९४ डलरमा पुगेको थियो । यो मूल्य एक महिनाअघिको तुलनामा करिब ९ प्रतिशत कम हो । यद्यपि, युद्ध सुरु हुनुअघिको तुलनामा अझै एक तिहाइभन्दा बढी हो ।
ट्रम्पको संकेतपछि जापानको प्रमुख सेयर सूचकांक सोमबार बिहानको कारोबारमा ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । शुक्रबार रेकर्ड उच्च बिन्दुमा बन्द भएको उक्त सूचकांकले नयाँ सर्वकालीन उच्च स्तर छोएको हो ।
ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत तेहरानसँगको वार्ता व्यवस्थित र रचनात्मक रूपमा अगाडि बढिरहेको बताएका छन् । तर उनले अधिकारीहरूलाई सम्झौतामा हतार नगर्न निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।
“दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्छ। कुनै गल्ती हुन हुँदैन” ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।
शनिबार ट्रम्पले सम्झौता धेरै हदसम्म तय भइसकेको घोषणा गर्दै सफलता नजिक पुगेको संकेत दिएका थिए । उक्त सम्झौताका सर्तहरूमा होर्मुज जलमार्ग पुनः खोल्ने विषय पनि समावेश रहेको बताइएको छ ।
इरानले फेब्रुअरी अन्त्यतिर युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा नाकाबन्दी गरेको छ । यसले विश्वव्यापी तेल व्यापारको करिब पाँचौं हिस्सा प्रभावित बन्न पुगेको छ ।
होर्मुज बन्द रहुञ्जेल दैनिक १ करोड बढी ब्यारेल कच्चा तेलको आपूर्ति अवरुद्ध भइरहने अवस्था छ । तर अमेरिका र इरानबिच सम्झौता भएपछि रोकिएका जहाजहरूबाट करिब १० करोड ब्यारेल कच्चा तेल एकैचोटि बजारमा आउने अपेक्षा छ ।
यही कारण अमेरिका इरानबिच शान्ति सम्झौताका साना साना खबरले पनि विश्वव्यापी कच्चा तेलको मूल्यमा उतारचढाव आइरहन्छ ।