• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

बालेनको मौनता : गणतन्त्र दिवसमा पनि बोल्न चाहेनन्, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्र

काठमाडौँ । जेठ १५ गते टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवसको विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सम्बोधन नगर्ने भएका छन्। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहने प्रधानमन्त्रीको सम्बोधनलाई पन्छाउँदै उनले यसपटक राष्ट्रपतिलाई सम्बोधनका लागि सिफारिस गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासलाई पत्र पठाउँदै राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरिदिन औपचारिक अनुरोध गरेको छ।

विगतका वर्षहरूमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति प्रमुख अतिथिका रूपमा उपस्थित हुने र प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने स्थापित परम्परा छ। तर, प्रधानमन्त्री बालेनले यो प्रचलनलाई तोड्ने निर्णय गरेका छन्।

प्रधानमन्त्री कार्यालयले राष्ट्रपतिलाई पठाएको पत्रमा संविधानको धारा ६६ को उपधारा २ लाई उद्धृत गरिएको छ। संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषदको सिफारिस र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्था समेत छ । सोही व्यवस्था अनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री बनेदेखि बालेन शाह सार्वजनिक समारोहमा अहिलेसम्म बोलेका छैनन् । संसदमा पनि बालेन नबोलेका कारण प्रतिपक्षी सांसदहरुले विरोधसहित प्रधानमन्त्रीको खोजी गरिरहेका छन् । बालेन यति महत्त्वपूर्ण राष्ट्रिय दिवसमा किन मौन रहन चाहे भन्ने विषयले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।