• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

यशोधा फुड्सले बजारबाट फिर्ता गरेन करेन्ट चाउचाउ, विभाग भन्छ- थप कारबाही गर्छौँ

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत वैशाख ३१ गते करेन्ट र लाली चाउचाउ फिर्ता गर्न भनेपनि बजारबाट फिर्ता नभएको पाइएको छ । विभागले करेन्ट र लाली चाउचाउमा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूपको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नपाइएको ठहर गरेको थियो । त्यसपछि विभागले उत्पादक कम्पनी यशोधा फुड्स प्रालिलाई दुवै ब्रान्डका चाउचाउ तत्काल बजारबाट फिर्ता गर्न भनेको थियो ।

यस विभागमा अन्तर्गतको निकायबाट बजार अनुगमन निरीक्षणको क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलन गरिएको नमुनाको परीक्षणबाट उत्पादित उक्त खाद्य पदार्थ (१०० ग्रामको करेन्ट चाउचाउ र ५० ग्रामको लाली चाउचाउ) मा एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड अनुरूप नपाइएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता गर्न साथै सोही दफाको उपदफा ४ बमोजिम बिक्री वितरण नगर्न नगराउनु हुन महानिर्देशकको निर्देशानुसार सम्बन्धित उत्पादकलाई यो आदेश जारी गरिएको छ, विभागको आदेशमा भनिएको छ ।

विभागले करेन्ट चाउचाउको हकमा ब्याच नम्बर ०४ए तथा उत्पादन मिति २०२६/०२/२३ र लाली चाउचाउका हकमा ब्याच नम्बर ०२ए तथा उत्पादन मिति २०२६/०२/२२ उल्लेख गरेको छ । अर्थात्, यी ब्याच नम्बर र उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ खान योग्य छैनन् ।

तर खान अयोग्य भए पनि उल्लेखित ब्याच नम्बर र उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ बजारमा निर्बाध विक्री भइरहेको पाइएको छ । विभागले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिए पनि उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ती उत्पादनहरू फिर्ता गरेको छैन । यसले गर्दा काठमाडौँका डिपार्टमेन्ट स्टोरसँगै किराना पसलहरूमा दुवै ब्याच तथा उत्पादन मिति भएका करेन्ट र लाली चाउचाउ निर्बाध बिक्री भइरहेको हो ।

यशोदा फुड्सले त्यस्ता चाउचाउ बजारबाट फिर्ता नगरेको सम्बन्धी जिज्ञासामा विभागले यशोदा फुड्ससँग ती उत्पादन फिर्ता गरिएको प्रमाण पेश गर्न निर्देशन दिइएको बताएको छ ।

विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले विभागले फिर्ता गर्न आदेश दिएपछि सो सामाग्री फिर्ता गर्ने दायित्व सम्बन्धित उद्योगीकै रहेको भन्दै करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गरेको प्रमाण पेश गर्न यशोदा फुड्सलाई निर्देशन दिइएको जानकारी दिइन् ।

शर्माले भनिन्, “हामीले फिर्ता गर्नू भनेपछि सम्बन्धित उद्योगीले ती चाउचाउ बजारबाट फिर्ता गर्नैपर्छ, फिर्ता नगर्ने भन्ने सवालै हुन्न । हामीले फिर्ता गरेको प्रमाण पेश गर्न यशोदा फुड्सलाई अवगत गराइसकेका छौँ ।”

शर्माले अटेरी गरेर बजारबाट ती चाउचाउ फिर्ता नगरेको पाइए यशोदा फुड्समाथि थप कारबाही हुने समेत स्पष्ट पारिन् ।

“खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ४२ ले बजारबाट फिर्ता गर्ने आदेश भएको खाद्य वस्तु बिक्री वितरण गरेको पाइएमा ३ लाख रुपैयाँ जरिवानाको व्यवस्था गरेको छ । यशोधामाथि पनि सोही अनुरुप कारबाही हुनेछ,” उनको भनाई छ ।