• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

२७ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ९८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.८५ अंक अर्थात् १ प्रतिशतले बढेर २७८६.३५ विन्दुमा पुगेर बन्द भएको हो ।

यो स्तर वैशाख १४ यताकै उच्च मानिएको छ । अघिल्लो कारोबार दिन शुक्रबार पनि बजार १६.३८ अंकले उकालो लागेको थियो ।

सोमबार बजार खुल्दादेखि नै हरियो संकेतमा देखिएको थियो । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिन करिब ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो । कुल १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर ७५ हजार ८५६ पटकको कारोबारबाट खरिद/बिक्री भएको नेप्सेले जनाएको छ ।

यसदिन कारोबारमा आएका ३४२ कम्पनीमध्ये २३५ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत सूचकतर्फ अधिकांश क्षेत्र सकारात्मक देखिएका छन् । जलविद्युत् समूह सबैभन्दा बढी १.५० प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, बैंकिङ, माइक्रोफाइनान्सलगायत समूहमा पनि सुधार देखिएको छ । म्युचुअल फन्ड समूह भने सामान्य घटेको छ ।

सोमबार सबैभन्दा बढी नाफा कमाउने कम्पनीहरूमा जलविद्युत् क्षेत्रकै कम्पनीहरू अगाडि रहे । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशतले बढेर शीर्ष स्थानमा रह्यो । त्यसपछि सुपर खुदी हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिज लाइन इनर्जीको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

उता, बुंगल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १०.३२ प्रतिशतले घटेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, एनआईबीएल ग्रोथ फन्ड, ८.५ प्रतिशत नेपाल बैंक डिबेञ्चर २०८७ र सिद्धार्थ इक्विटी फन्ड पनि घट्ने सूचीमा परेका छन् ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् अग्रस्थानमा रह्यो । कम्पनीको ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि रिडी पावर, अपी पावर, नेसनल हाइड्रोपावर र ङादी ग्रुपमा उच्च कारोबार भएको देखिएको छ ।