काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि जानकारी बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । निर्णयअनुसार मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, नेपाल–चीन विद्युत् प्रसारण लाइन अन्तर्गत चिलिमे–केरुङ आयोजना कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको सरकारका प्रवक्ताले जानकारी दिए ।