• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल

काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गरेको जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नागरिक उड्डयन महाशाखा प्रमुखका रूपमा कार्यरत डंगोल लामो समयदेखि हवाई क्षेत्रसँग सम्बन्धित प्रशासनिक जिम्मेवारीमा सक्रिय थिए । ललितपुर महानगरपालिका–२६ निवासी डंगोल यसअघि पनि क्यानको नेतृत्व सम्हालिसकेका अनुभव भएका अधिकारी हुन् ।

तत्कालीन महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि डंगोलले २०८२ मंसिर १९ देखि पुस ४ गतेसम्म प्राधिकरणको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । पछि प्राधिकरणकै उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएपछि उनी मन्त्रालयमा फर्किएका थिए ।

महानिर्देशक नियुक्तिका लागि पर्यटन मन्त्रालयले वैशाख १२ गते सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारबाट आवेदन मागेको थियो । प्रारम्भिक छनोटमा परेका २१ जना उम्मेदवारमध्येबाट प्रस्तुतीकरण र अन्तर्वार्तापछि डंगोल चयन भएका हुन् ।