काठमाडौँ । बुधबार संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्दै छ ।
राष्ट्रियसभाको बैठकको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।
बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
यस्तै, प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।
बैठकमा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
बैठकमा रासायनिक मलको वर्तमान मौज्दात, वितरण प्रणाली र भावी योजनाका सम्बन्धमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिने कार्यसूची छ ।