काठमाडौँ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले मुलुककको अर्थतन्त्र उपभोग केन्द्रित रहेको देखाएको छ । सर्वेक्षणका अनुसार चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कुल उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ ।
पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कुल उपभोगको अंश ९०.८ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष ७.४ प्रतिशतले बढेको कुल उपभोग चालु आर्थिक वर्ष ३.२ प्रतिशतले बढ्ने अनुमान छ ।
निजी उपभोगको तुलनामा सरकारी उपभोग न्यून छ । चालु आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा सरकारी क्षेत्र र निजी क्षेत्रको उपभोगको अनुपात क्रमशः ५.१८ प्रतिशत र ८२.४० प्रतिशत रहने अनुमान छ । त्यसैगरी गैर-नाफामूलक संस्थाको उपभोगको अनुपात १.९२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात क्रमशः ८.३८ प्रतिशत, ८२.८४ प्रतिशत र १.८९ प्रतिशत रहेको थियो । पछिल्लो दशकमा यस्तो अनुपात क्रमशः ७.९ प्रतिशत, ८१.१ प्रतिशत र १.७ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्ष सरकारी क्षेत्र, निजी क्षेत्र र गैर-नाफामूलक संस्थाको उपभोगको अनुपात क्रमशः ६.६२ प्रतिशत, ९१.२६ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात क्रमशः ९.०१ प्रतिशत, ८८.९६ प्रतिशत र २.०३ प्रतिशत रहेको थियो । विगत दशकमा यस्तो अनुपात क्रमशः ८.७३ प्रतिशत, ८९.३८ प्रतिशत र १.९ प्रतिशत रहेको छ ।
कुल निजी उपभोगमध्ये खाद्य वस्तुको अंश बढी छ । कुल निजी उपभोगमा खाद्य वस्तुको अंश घट्ने र सेवा तथा गैर खाद्य वस्तुको अंश सामान्य वृद्धि हुने अनुमान छ । चालु आर्थिक वर्ष कुल निजी उपभोगमा खाद्य वस्तु, गैरखाद्य वस्तु र सेवाको अंश क्रमशः ४८.३० प्रतिशत, १८.४६ प्रतिशत र ३३.२४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अंश क्रमशः ४८.८४ प्रतिशत, १८.३४ प्रतिशत र ३२.८२ प्रतिशत रहेको थियो । पछिल्लो दशक कुल निजी उपभोगमा खाद्य, गैर-खाद्य वस्तु र सेवाको अंश वार्षिक औसत क्रमशः ४८.७५ प्रतिशत, १८.६७ प्रतिशत र ३२.५८ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य बचत र कुल राष्ट्रिय बचतमा सुधार भएको छ । गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत ६.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष २.८ प्रतिशत बिन्दुले सुधार भई ९.७ प्रतिशत पुग्ने अनुमान छ । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत वार्षिक औसत ९.२ प्रतिशत रहेको छ ।
विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि, लगानी संकुचन लगायतका कारण कुल राष्ट्रिय बचत बढ्दै गएको छ । चालु आर्थिक वर्ष कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ४४.७७ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो अनुपात ३८.३९ प्रतिशत रहेको थियो । पछिल्लो दशक कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचत वार्षिक औसत ३७.० प्रतिशत रहेको छ ।