• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेपालीको प्रति व्यक्ति आय १५३५ पुग्ने अनुमान

काठमाडौँ ।अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.७ प्रतिशतले अवमूल्यन हुने अनुमानको आधारमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घटेर १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरेको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१६ अमेरिकी डलर रहेको थियो।

गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) रु.२ लाख ६ हजार ६२५ रहेकोमा चालु आर्थिक वर्ष ५.५ प्रतिशतले वृद्धि भई रु.२ लाख १७ हजार ९४६ पुग्ने अनुमान छ । पछिल्लो दशक प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको वार्षिक औसत वृद्धिदर ८.८ प्रतिशत रहेको छ ।

आर्थिक क्रियाकलापमा आएको शिथिलता, न्यून आर्थिक वृद्धि लगायतका कारणले प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर न्यून रहेको रहेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति राष्ट्रिय आय र प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय दुवैमा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष प्रतिव्यक्ति कुल राष्ट्रिय आय ५.७ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्षमा यस्तो आय ६.३ प्रतिशतले वृद्धि भएको थियो। गत आर्थिक वर्ष १ हजार ५३५ अमेरिकी डलर रहेको प्रतिव्यक्ति राष्ट्रिय आय चालु आर्थिक वर्षमा समेत सोही बराबर रहने अनुमान छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल खर्चयोग्य आय १ हजार ९९४ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २ हजार ४४ अमेरिकी डलर पुग्ने अनुमान छ ।