• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राजस्व संकलनमा संघको हिस्सा ९२.१%, प्रदेश तथा स्थानीय तहको ७.९%

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा तीन तहका सरकारको राजस्व सङ्कलन (सञ्चय कोष र विविध कोषमा जम्मा भएको राजस्व) ११.४ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ८१ अर्ब ७० करोड पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार कुल सङ्कलित राजस्वमध्ये सङ्घबाट सङ्कलित राजस्वको हिस्सा ९२.१ प्रतिशत र प्रदेश तथा स्थानीय तहबाट सङ्कलित राजस्वको हिस्सा ७.९ प्रतिशत रहेको छ ।

त्यसैगरी कुल सङ्कलित राजस्वमध्ये कर राजस्व ८७.१ प्रतिशत र गैरकर राजस्व १२.९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय इकाइ (सङ्घ, प्रदेश र स्थानीय तह) को सञ्चित कोषको राजस्व ११.३ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ७२ अर्ब ७५ करोड पुगेको छ । कुल राजस्वमध्ये सङ्घ, प्रदेश र स्थानीय तहको सञ्चित कोषमा रहेको राजस्वको हिस्सा क्रमशः ८१.१ प्रतिशत, ८.४ प्रतिशत र १०.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारको सञ्चित कोषको राजस्व १०.४ प्रतिशतले बढेको थियो ।