यदि तपाईँ महिला हुनुहुन्छ भने, सम्भवतः तपाईँ आफ्ना दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा लामो समयसम्म बाँच्नुहुनेछ । विश्वव्यापी औसत अनुसार यो अन्तर करिब पाँच वर्षसम्म हुन सक्छ ।
महिलाहरू लामो समयसम्म बाँच्ने ठ्याक्कै कारण अझै पूर्ण रूपमा ज्ञात छैन । तर वैज्ञानिकहरूसँग केही तर्कहरू छन्, जसले यसको कारण बुझ्न मद्दत गर्छ ।
यसमा प्रमुख तर्क महिला र पुरुषको जैविक संरचनामा रहेको भिन्नता हो । तर, उनीहरूको जीवनशैली, खानपानदेखि जीवनसाथीको छनोटसम्मका धेरै कारकहरू पनि आयुसँग जोडिन्छन् ।
वैज्ञानिकहरूको यी तर्कहरूले चराचुरुङ्गीहरूमा वा किन केही प्रजातिहरू, जस्तै: भालेको आयु पोथीको भन्दा लामो हुन्छ भन्ने कुरा बुझ्न पनि मद्दत गर्न सक्छ ।
खानपानको भूमिका
महिलाहरूको तुलनामा पुरुषहरू बढी बाहिर रहने भएकाले उनीहरूको खानपानको बानी प्रायः कम स्वस्थकर हुन्छ ।
बेलायतको अक्सफोर्ड इन्स्टिच्युट अफ पपुलेसन एजिङकी निर्देशक प्रोफेसर सारा हार्पर भन्छिन्, “झन्डै हरेक देशमा महिलाहरू पुरुषहरूको तुलनामा बढी समयसम्म बाँच्छन् ।”
यस तर्कलाई पुष्टि गर्न उनी रूस, युक्रेन र भियतनामलाई प्रस्तुत गर्छिन् ।
उनी भन्छिन्, “यी देशहरूमा महिलाहरू पुरुषभन्दा करिब १० वर्ष वा त्योभन्दा बढी बाँच्ने गर्छन् । तर नाइजेरिया जस्ता स्थानहरूमा दुवैको आयुबीचको अन्तर निकै कम छ ।”
‘आवर वर्ल्ड इन डाटा’ वेबसाइटमा प्रकाशित एक अध्ययनले यस्तो निष्कर्ष निकालेको छ ।
वैज्ञानिकहरूले यो अन्तरको एउटा कारण सामाजिक र व्यवहारगत पक्षलाई पनि मानेका छन् । प्रोफेसर हार्परका अनुसार रूसमा यसको मुख्य कारण पुरुषहरूमा धूम्रपान र मदिरापानको उच्च दर हो ।
विश्वभरका पुरुषहरू जीवन छोट्याउने बानीहरूमा बढी संलग्न हुन्छन् । उनीहरूको खानपान प्रायः कम स्वस्थ हुन्छ । साथै, बिरामी पर्दा पनि उनीहरू डाक्टरकोमा कम जाने गर्छन् ।
प्रोफेसर हार्पर भन्छिन्, “विवाहित पुरुषहरूले यसमा केही फाइदा पाउँछन् किनभने उनीहरूका जीवनसाथी यस विषयमा बढी सचेत हुन्छन् र प्रायः उनीहरूलाई डाक्टरकोमा जान प्रेरित गर्छन् ।”
धेरै समाजहरूमा पुरुषहरू बढी जोखिमपूर्ण काममा संलग्न हुन्छन् र सामाजिक रूपमा पुरुषत्वलाई प्रायः जोखिम मोल्ने व्यवहारसँग जोडेर हेरिने उनको भनाई छ ।
“सडक दुर्घटना, हिंसा, हत्या र आत्महत्याबाट पुरुषहरूको मृत्यु दर बढी हुन्छ,” उनले थपिन ।
यद्यपि, यो अवस्था परिवर्तन हुँदै गएको पनि देखिएको छ । प्रोफेसर हार्परका अनुसार बेलायतमा सन् १९६० र ७० को दशकमा सञ्चालन गरिएका धूम्रपानविरोधी अभियानका कारण पुरुषहरूको असामयिक मृत्युमा कमी आएको थियो ।
एस्ट्रोजन हर्मोन: महिलाहरूको सुरक्षा कवच
महिलाको शरीरमा हुने यौन हर्मोनले उनीहरूलाई धेरै रोगहरूबाट जोगाउन मद्दत गर्छ ।
प्रोफेसर हार्पर भन्छिन्, “पुरुषहरूले जीवनशैलीमा सुधार गरेर अझ लामो बाँच्न सक्ने भए पनि जीवनशैली परिवर्तन मात्रले यो अन्तर पूर्ण रूपमा हटाउन सक्दैन, किनभने महिला र पुरुषबीच जैविक भिन्नता सधैँ रहन्छ ।”
यस्ता भिन्नतामध्ये एउटा हर्मोनसँग सम्बन्धित छ । स्पेनको भ्यालेन्सिया विश्वविद्यालयमा बुढ्यौलीसम्बन्धी अनुसन्धान गर्ने फिजियोलोजिस्ट प्रोफेसर कन्सुएलो बोर्रासले यसबारे बताएकी छिन् ।
उनी महिलाको शरीरमा हुने यौन हर्मोन एस्ट्रोजनले महिलाको सुरक्षा गर्न धेरै काम गर्ने तर्क प्रस्तुत गर्छिन् ।
उनका अनुसार यसले शरीरको कोलेस्ट्रोल स्तर नियन्त्रणमा राख्छ । साथै, प्रतिरक्षा प्रणाली सन्तुलित राख्न, मूत्र संक्रमण रोक्न, मस्तिष्क र हड्डीको सुरक्षा गर्न समेत मद्दत गर्छ ।
“यसको मुख्य कारणमध्ये एक एस्ट्रोजनले एन्टिअक्सिडेन्टको रूपमा काम गर्नु हो, जसले शरीरमा बन्ने हानिकारक कणहरू (फ्री रेडिकल्स) लाई नियन्त्रण गर्छ,” उनले स्पष्ट पारिन् ।
यसको प्रभाव बुझाउन उनी रजोनिवृत्ति (मेनोपज) को उदाहरण दिन्छिन् । उनले भनिन्, “धेरै अध्ययनहरूले मेनोपजपछि शरीरमा एस्ट्रोजनको मात्रा घट्ने देखाएका छन्, यसले गर्दा शरीरको कार्यप्रणालीमा असर पर्छ ।”
एस्ट्रोजनको महत्त्व स्पष्ट पार्न उनी हड्डी कमजोर र खोक्रो बनाउने रोग अस्टियोपोरोसिसको उदाहरण पनि दिन्छिन् । उनी भन्छिन्, “यो रोग उमेर बढ्दै जाँदा र एस्ट्रोजनको कमीका कारण पनि हुन सक्छ ।”
उनका अनुसार महिलाहरूलाई मेनोपजको प्रारम्भिक चरणमा हर्मोन थेरापी दिइएमा उनीहरूको शारीरिक कार्यक्षमतामा सुधार देखिन्छ ।
टेस्टोस्टेरोन: पुरुषहरूको आयु घटाउने हर्मोन?
अनुसन्धानकर्ताहरूको पुरुषहरूको यौन हर्मोनले उनीहरूको आयुमा प्रभाव पार्ने कुरा विश्वास गर्छन् ।
पुरुषहरूको मुख्य यौन हर्मोन टेस्टोस्टेरोन हो, जुन बढी जोखिम लिने व्यवहारसँग जोडिन्छ ।
फिजियोलोजिस्ट प्रोफेसर कन्सुएलो बोर्रास भने यस हर्मोनल शरीरभित्र केही हानिकारक प्रभाव पनि पार्ने भएपनि यसको कारण अझै स्पष्ट नरहेको बताउँछिन् ।
सन् २०१२ मा गरिएको एक अध्ययनमा परम्परागत कोरियाली तेस्रो लिंगिको समूह र पुरुषहरूको समूहको आयु तुलना गरिएको थियो ।
अध्ययनले तेस्रो लिंगिहरुकोको शरीरमा टेस्टोस्टेरोन उत्पादन नभएको र उनीहरू पुरुष समकक्षीहरूको तुलनामा १४ देखि १९ वर्षसम्म बढी बाँच्ने देखायो ।
यद्यपि, यस तथ्यांकका आफ्नै सीमाहरू छन् र यस्तो अध्ययनलाई स्वाभाविक रूपमा दोहोर्याउन सम्भव पनि छैन ।
केही जनावरहरूमा पनि प्रजनन क्षमता समाप्त भएपछि भालेहरू लामो समयसम्म बाँचेको देखिएको छ । त्यसैले बोर्रासले हर्मोनलाई आयुको अन्तरको एउटा पक्षका रुपमा बुझ्नुपर्ने मत राख्छिन् ।
एकभन्दा बढी जीवनसाथी घातक
एकभन्दा बढी जीवनसाथी भएका भाले वा पोथी जनावरहरूको आयुमा त्यसको प्रभाव देखिएको छ । महिलाहरू पुरुषभन्दा बढी किन बाँच्छन् भन्ने बुझ्न वैज्ञानिकहरूले अन्य जीवजन्तुहरूमा समेत अध्ययन गरिरहेका छन् ।
जर्मन अनुसन्धानकर्ता जोहाना स्टार्क भन्छिन्, “पोथी जाती बढी बाँच्छन् भन्ने विशेषता केवल मानवमा मात्र होइन, सिंह, भेडा, ह्वेल र मुसामा पनि देखिन्छ। तर चराचुरुङ्गीहरूमा यसको उल्टो हुन्छ, जहाँ भालेहरू बढी बाँच्छन् । यसको एउटा कारण क्रोमोजोम हुन सक्छ ।”
“स्तनधारी जीवहरूमा पोथीसँग दुईवटा एक्स क्रोमोजोम हुन्छन्, जबकि भालेसँग एउटा एक्स र एउटा वाई हुन्छ । यदि एउटा एक्समा खराबी आयो भने अर्को एक्सले त्यसको क्षतिपूर्ति गर्न सक्छ,” उनी भन्छिन्, “तर पुरुषहरूमा एउटै एक्स क्रोमोसोम हुने भएकाले यस्ता खराबीहरू बढी हानिकारक हुन सक्छन् ।”
चराचुरुङ्गीहरूमा भने अवस्था उल्टो हुन्छ, जहाँ भालेसँग दुई वटा जेड क्रोमोजोम हुन्छन् ।
“यो एउटा व्याख्या हुन सक्छ, जसले स्तनधारीमा पोथी किन बढी बाँच्छन् र चराचुरुङ्गीमा भाले किन बढी बाँच्छन् भन्ने बुझाउन मद्दत गर्छ ।”
तर गत वर्ष २०२५ मा प्रकाशित उनको एउटा अनुसन्धानले यस विषयको अर्को पक्ष पनि उजागर गरेको छ ।
उनी अध्ययनबारे भन्छिन्, “एउटै जीवनसाथी हुने (मोनोगेमस) प्रजातिहरूमा लिङ्गअनुसारको आयु अन्तर निकै कम हुन्छ । तर गोरिल्ला र सिंहजस्ता प्रजातिहरूमा, जहाँ भालेहरूले धेरै जीवनसाथीका लागि प्रतिस्पर्धा गर्छन्, त्यहाँ आयु अन्तर बढी हुन्छ भन्ने हामीले पायौँ ।”
अनुसन्धानकर्ता जोहाना स्टार्कका अनुसार प्रजननका लागि भालेहरूले बलियो शरीर वा सिङ विकास गर्न धेरै ऊर्जा खर्च गर्छन्, जसले उनीहरूको आयु घटाउँछ । अर्कोतर्फ, पोथीहरूका लागि सन्तानको हेरचाह महत्त्वपूर्ण हुन्छ । विशेषगरी लामो आयु भएका प्रजातिहरूमा आमाको लामो समयसम्म जीवित रहनु लाभदायक हुन्छ ।
तर महिलाहरूको आयु लामो हुनुको अर्थ उनीहरूको जीवन सधैँ सुखद नै हुन्छ भन्ने होइन । महिलाहरूले यस्ता रोगहरूको सामना बढी गर्छन् जसले मृत्यु त गराउँदैनन्, तर जीवनभर दुःख दिन सक्छन्, जस्तै कम्मर वा टाउको दुखाइ र डिप्रेसन ।
प्रोफेसर हार्पर भन्छिन्, “महिलाहरूको प्रतिरक्षा प्रणाली बलियो हुन्छ, तर यसकै कारण सूजनसँग सम्बन्धित रोगहरू पनि हुन सक्छन् । साथै, उनीहरूको मांसपेशी र हड्डीको संरचना केही कम बलियो हुन्छ ।”
उनको निष्कर्ष छ, “पुरुषहरूको जैविक संरचनाले उनीहरूलाई मृत्युको जोखिमप्रति बढी संवेदनशील बनाउँछ, त्यसको विपरीत महिलाहरूको जैविक संरचनाले उनीहरूलाई अशक्तता वा दीर्घकालीन शारीरिक समस्याप्रति बढी संवेदनशील बनाउँछ ।”
तर यी सबै विशेषज्ञले हाम्रो जैविक बनावटले मात्र सबै कुरा निर्धारण नगर्ने कुरामा जोड दिएका छन् ।
“वातावरण र व्यवहारबाट जैविक भिन्नताहरू गहिरो रूपमा प्रभावित हुन्छन् । महिला र पुरुष दुवैले आफ्नो आहार, व्यायाम, निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिन जरुरी छ । यो केवल लामो आयुका लागि मात्र होइन, राम्रो जीवनका लागि पनि आवश्यक छ,” उनीहरुको भनाई छ । (बीबीसीबाट)