काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि खुलेको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा उल्लेख्य गिरावट देखिएको छ। लगानीकर्ताले बजेटका केही व्यवस्थाप्रति असन्तुष्टि जनाएसँगै बजार परिसूचक नेप्से २६.७२ अंक (०.९६ प्रतिशत) घटेर २७५५.३७ बिन्दुमा झरेको हो।
कारोबारको सुरुआती चरणमा बजारमा सामान्य उतारचढाव देखिए पनि मध्याह्नपछि लगातार दबाबमा रह्यो। दिनभर ३४९ कम्पनीका १ करोड ३३ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६१ करोड ४३ लाख रुपैयाँमा सीमित रह्यो। अघिल्लो कारोबार दिन ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
बजार घट्नुको मुख्य कारण बजेटमार्फत पूँजीगत लाभकर बढाइनुलाई मानिएको छ। सरकारले अल्पकालीन सेयर कारोबारमा लाग्ने कर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन कारोबारमा लाग्ने कर ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्याएको छ। बजेटमा पूँजीगत लाभकरलाई अन्तिम करको रूपमा उल्लेख गरिए पनि आर्थिक विधेयकमा वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने व्यक्तिका हकमा थप करसम्बन्धी अस्पष्टता देखिएको भन्दै लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन्।
बजारमा अधिकांश कम्पनीको मूल्य घट्दा ३५ कम्पनीको सेयर मूल्य बढेको, २३३ कम्पनीको घटेको र २ कम्पनीको मूल्य स्थिर रहेको थियो। १३ उपसमूहमध्ये ११ उपसमूह ओरालो लागेका थिए।
यद्यपि केही क्षेत्रले बजेटबाट सकारात्मक प्रभाव पनि प्राप्त गरेका छन्। ‘अन्य’ उपसमूह ३.३६ प्रतिशतले बढेको छ। बजेटमार्फत नेपाल पुनर्बीमा कम्पनीलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत हिस्सा सुनिश्चित गरिएपछि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको थियो। निर्जीवन बीमा उपसमूह पनि १.३७ प्रतिशतले बढ्यो। तेस्रो पक्ष दुर्घटना बीमा रकम दोब्बर बनाउने सरकारी घोषणाले बीमा कम्पनीहरूको व्यवसाय विस्तार हुने अपेक्षाले यस क्षेत्रमा उत्साह देखिएको हो।
कारोबारका क्रममा कालिन्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विपरीत रूपमा बुंगल हाइड्रोपावरको सेयर मूल्य १३.२० प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनी बन्यो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको कारोबार उच्च रह्यो।