• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

२२.२१ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिन देखिएको गिरावटलाई सेयर बजारले मंगलबार आंशिक रूपमा सच्याएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२.२१ अंकले उकालो लाग्दै २७७७.५८ विन्दुमा पुगेर बन्द भएको हो। अघिल्लो दिन बजार करिब २७ अंकले घटेको थियो।

मंगलबार अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्य बढ्दा बजार सकारात्मक देखिएको हो। कारोबारमा सहभागी कम्पनीहरूमध्ये १८० भन्दा बढी कम्पनीको मूल्य वृद्धि भएको छ भने करिब ८० कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

यस दिन कुल ६१ हजार ५२७ पटकको कारोबारमार्फत एक करोड १३ लाखभन्दा बढी कित्ता सेयर किनबेच भए। कारोबार रकम ५ अर्ब २६ करोड ५२ लाख रुपैयाँभन्दा बढी पुगे पनि यो अघिल्लो कारोबार दिनको ५ अर्ब ६१ करोड रुपैयाँको तुलनामा कम हो।

उपसमूहतर्फ उत्पादन तथा प्रशोधन समूह बाहेक अन्य सबै समूह हरियो देखिए। ‘अन्य’ समूहको परिसूचक सबैभन्दा धेरै ३.८४ प्रतिशतले बढ्दा समग्र बजारलाई माथि लैजान सहयोग पुग्यो। उत्पादन तथा प्रशोधन समूह भने सामान्य गिरावटमा रह्यो।

कम्पनीगत प्रदर्शनमा कालिञ्चोक हाइड्रोपावर अग्रस्थानमा रह्यो। यसको सेयर मूल्य झन्डै १५ प्रतिशतले बढेर प्रतिकित्ता ४९८ रुपैयाँ २० पैसा पुगेको छ। सेन्ट्रल फाइनान्स, क्रेस्ट माइक्रोफाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र गुर्खाज फाइनान्स पनि उच्च वृद्धि गर्ने कम्पनीहरूको सूचीमा परे।

यता, मूल्य घट्ने कम्पनीमध्ये नबिल डिबेन्चर प्रमुख रह्यो। यसको मूल्य ४.५९ प्रतिशतले घटेर प्रतिकित्ता १,०४० रुपैयाँमा झरेको छ। बुंगल हाइड्रोपावरको सेयर मूल्य पनि ४.४९ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको सेयरमा ४६ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार रकम २६ करोड ७८ लाख रुपैयाँ पुगेको छ।