काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेसँगै नेपाल राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति निर्माणको तयारीमा होमिएको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गर्नुपर्ने व्यवस्था अनुरूप बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव आह्वान गरेको हो । इच्छुक व्यक्ति, संघसंस्था तथा सम्बन्धित पक्षहरूले आगामी असार ५ गतेभित्र आफ्ना सुझावहरू राष्ट्र बैंकमा पठाउन सक्नेछन् । सुझाव [email protected] मा इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
आगामी मौद्रिक नीतिले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन, कर्जा प्रवाह विस्तार, ब्याजदर स्थिरता र आर्थिक गतिविधि चलायमान बनाउँदै सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य भेटाउने नीति अब्लम्बन गर्नुपर्ने छ ।
