काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
यो रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.२ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स वृद्धि दर १३.३ प्रतिशत रहेको थियो। चालु वर्षमा भने विदेशमा कार्यरत नेपालीले पठाउने रकममा तीव्र वृद्धि देखिएको राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।
वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको वैशाखमा यस्तो रकम १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा गणना गर्दा पनि रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले बढेर १३ अर्ब २६ करोड डलर पुगेको छ।
रेमिट्यान्ससँगै खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि वृद्धि भएको छ। समीक्षा अवधिमा यस्तो आय २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ थियो।
वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको संख्या घटेको देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ । गत वर्षको यही अवधिमा यस्तो संख्या ४ लाख ५ हजार ६१० थियो।
यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेको छ। समीक्षा अवधिमा ३ लाख २६ हजार ३६४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको २ लाख ८० हजार ३१४ जनाभन्दा बढी हो।
अमेरिकी डलरको मूल्यमा आएको वृद्धिलाई रेमिट्यान्स बढ्नुको प्रमुख कारण मानिएको छ।