• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

मकालु वाईन इन्डस्ट्रिजले १० लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगको रूपमा परिचित मकालु वाईन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरिने यस आईपीओका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। यससम्बन्धी सम्झौता पत्रमा मकालु वाईन इन्डस्ट्रिजका अध्यक्ष पिताम्बर पोखरेल र रिलायबल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।

वि.सं. २०५२ सालमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ मा स्थापना भएको यस उद्योगले विगत ३१ वर्षदेखि गुणस्तरीय वाईन उत्पादन गर्दै आएको छ। समुन्द्र सतहबाट करिब २८०० मिटरको उचाइमा रहेको प्राकृतिक मुहानको पानी र जंगलमा पाइने चुत्रो तथा ऐँसेलु जस्ता फलफूलको प्रयोग गरी कम्पनीले अर्गानिक ‘हिंवा वाईन’ उत्पादन गर्दै आएको छ।

आधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरीय वाईन उत्पादन गर्दै आएको यस कम्पनीसँग करिब २० रोपनी आफ्नै जग्गा रहेको छ। कम्पनीमा देवश्री भेन्चर, हार्वेस्ट भेन्चर, विर्तामोड सञ्जीवनी इन्भेष्टमेन्ट तथा स्टक आइडियाज इन्भेष्टमेन्ट लगायतका संस्थागत लगानीकर्ताहरूको समेत लगानी रहेको छ।

कम्पनीले निकट भविष्यमा अंगुरबाट उत्पादन हुने तीन प्रकारका प्रिमियम वाईन बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ। अर्गानिक वाईन उद्योगलाई पूँजी बजारसँग जोड्नुलाई नेपालको औद्योगिक क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

बिक्री प्रबन्धक नियुक्त भएको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था हो। यसले नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन र निक्षेप सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको छ।