• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

९ महिनामै कोकाकोलाको नाफा २ अर्ब बढी, तर सरकारलाई तिरेन पौने २ करोड बहाल

काठमाडौँ । कोकाकोला, स्प्राइट, फान्टा, किन्ले पानी उत्पादन तथा प्रशोधन गर्ने कम्पनी हो, बोटलर्स नेपाल लिमिटेड । बोटलर्स नेपाल समूहका दुई कम्पनी छन्, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) ।

कोकाकोला, स्प्राइट, फान्टा जस्ता पेय पदार्थ उत्पादन तथा प्रशोधन गर्ने भएकाले बोटलर्स नेपालले नेपालमा राम्रो मुनाफा आर्जन गर्ने कम्पनी समेत हो ।

बोटलर्स नेपाल (बालाजु) ले मात्रै चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा (गत साउनदेखि चैतसम्म) ७ अर्ब ६५ करोड ४१ लाख २२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यस अवधिमा कुल नाफा २ अर्ब १३ करोड ६५ लाख ९३ हजार रुपैयाँ, अन्य सञ्चालन आम्दानी ६ करोड ६३ लाख ८२ हजार रुपैयाँ र सञ्चालन नाफा ३९ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ ।

१९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ५ अर्ब ८७ करोड ६७ लाख ८४ हजार रुपैयाँको रहेको छ ।

यी तथ्यांकले बोटलर्स नेपाल राम्रो मुनाफा आर्जन गरिरहेको तथा मजबुत वित्तिय स्थिति रहेको कम्पनी देखिन्छ । तर, अर्बौँ नाफा कमाउने र अन्य क्षेत्रमा करोडौँ खर्च गर्ने यही कम्पनीले लामो समयदेखि सरकारलाई भाडाबापतको पौने २ करोड भने नतिरेको पाइएको छ ।

बोटलर्स नेपालको काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा आफूले ओगटेको जग्गाको बहाल नबु्झाएको हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाए अनुसार बोटलर्स नेपालले जमिन बहालबापतको १ करोड ७५ लाख २४ हजार १३ रुपैयाँ ७३ पैसा तिरेको छैन । यो बहाल २०८३ वैशाख मसान्तसम्मको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार बोटलर्स नेपाालसहितका कम्पनीहरुलाई पटक पटक ताकेता गर्दा समेत महसुल बुझाउन अटेर गर्दै आएका छन् । लामो समयदेखि बहाल नबुझाएपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नै जारी गरेर औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण तथा मर्मत गर्न र उद्योगलाई प्रदान गर्ने सेवा सुविधा उपलब्ध गराउन कठिनाई भइरहेको जनाएको छ ।

लिमिटेडले सूचनामार्फत तिर्नुपर्ने रकम ७ दिनभित्र बुझाउन अल्टिमेटम दिँदै यस अवधिमा समेत हिसाब राफसाफ नगरे सम्झौता शर्त बमोजिम असुल उपर गरिने चेतावनी दिएको छ ।