काठमाडोँ। नेपालमा उपभोक्ता मुद्रास्फीति (महँगी) पुनः तीव्र गतिमा बढ्दै ५ प्रतिशतको नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको हो।
गत वर्षको वैशाखमा महँगी दर २.७७ प्रतिशत मात्र थियो। एक वर्षको दाँजोमा महँगी २.२७ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत तथा गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत थियो।
खाद्य समूहअन्तर्गत फलफूलको मूल्यमा सबैभन्दा बढी १८.६० प्रतिशत वृद्धि भएको छ। त्यसपछि घिउ तथा तेलको मूल्य १३.९९ प्रतिशत, तरकारी ५.४० प्रतिशत र माछा तथा मासु ४.१६ प्रतिशतले बढेको छ। यद्यपि दाल तथा गेडागुडीको मूल्य १.६७ प्रतिशत तथा मरमसलाको मूल्य ०.६५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।
गैर–खाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशतले बढेको छ भने यातायात क्षेत्रमा १५.३० प्रतिशतको वृद्धि देखिएको छ। शिक्षा क्षेत्रमा ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ४.७७ प्रतिशत तथा कपडा र जुत्ताचप्पलमा ४.७३ प्रतिशत मूल्यवृद्धि भएको छ।
क्षेत्रगत रूपमा सहरी क्षेत्रमा महँगीको दबाब बढी देखिएको छ। वैशाखमा सहरी क्षेत्रको मुद्रास्फीति ५.२९ प्रतिशत रहँदा ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत रहेको छ। भौगोलिक आधारमा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत महँगी देखिएको छ। काठमाडौं उपत्यकामा ४.९० प्रतिशत, पहाडी क्षेत्रमा ४.७३ प्रतिशत र हिमाली क्षेत्रमा ३.७३ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। त्यसपछि मधेश प्रदेशमा ५.४७ प्रतिशत, लुम्बिनी प्रदेशमा ५.३१ प्रतिशत, कर्णालीमा ४.८८ प्रतिशत, गण्डकीमा ४.८६ प्रतिशत, सुदूरपश्चिममा ४.६५ प्रतिशत र बागमती प्रदेशमा ४.५५ प्रतिशत महँगी रहेको छ।
चालु आर्थिक वर्षको पहिलो १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४.३९ प्रतिशतभन्दा कम हो।
उपभोक्ता मूल्य मात्र होइन, थोक मूल्यमा पनि वृद्धि देखिएको छ। वैशाखमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा यो ३.९५ प्रतिशत थियो। मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १५.५९ प्रतिशत पुगेको छ भने पुँजीगत वस्तुको ४.६१ प्रतिशत र निर्माण सामग्रीको थोक मूल्य सूचकांक २.४७ प्रतिशतले बढेको छ। यद्यपि उपभोग्य वस्तुको थोक मुद्रास्फीति ८.६३ प्रतिशतले ऋणात्मक रहेको छ।
छिमेकी मुलुक भारतसँग तुलना गर्दा नेपालमा महँगीको दबाब उच्च देखिएको छ। सन् २०२६ अप्रिलमा भारतको उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत रहँदा नेपालमा उक्त दर ५.०४ प्रतिशत पुगेको छ।