• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

३७ खर्ब रुपैयाँ नाघ्यो विदेशी मुद्रा सञ्चिति, २२ महिनाको आयात धान्न सक्ने

काठमाडौँ। विदेशी विनिमय सञ्चिति हालसम्मकै बलियो अवस्थामा पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको हो।

गत आर्थिक वर्षको असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो। अमेरिकी डलरमा गणना गर्दा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ५० करोड डलरबाट बढेर २४ अर्ब १९ करोड डलर पुगेको छ। यो २४ प्रतिशतको वृद्धि हो।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये केन्द्रीय बैंकमा रहेको सञ्चिति ३६.६ प्रतिशतले बढेर ३२ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तमा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको थियो।

यस्तै, नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति ५४.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सञ्चिति २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ थियो।

वैशाख मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.६ प्रतिशत रहेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी मुद्रा सञ्चिति २२.६ महिनाको वस्तु आयात तथा १९.२ महिनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

विदेशी मुद्रा सञ्चितिको आकार अर्थतन्त्रको तुलनामा पनि उल्लेखनीय रूपमा बढेको छ। वैशाख मसान्तसम्म सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (GDP) सँगको अनुपात ६०.७ प्रतिशत, कुल आयातसँगको अनुपात १५९.७ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.३ प्रतिशत पुगेको छ। गत असारमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।