• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

बुटवल पावर कम्पनीद्वारा प्यूठानमा हरित हाइड्रोजन परियोजनाको शुभारम्भ

प्यूठान । नेपालको ऊर्जा क्षेत्रमा नवीन प्रविधिको प्रयोग गर्दै बुटवल पावर कम्पनी लिमिटेड (BPC) ले प्यूठानको दरिमचौरमा ५० किलोवाट क्षमताको ‘हरित हाइड्रोजन पाइलट परियोजना’ सुरु गरेको छ। भविष्यको स्वच्छ ऊर्जा समाधानका रूपमा लिइने हरित हाइड्रोजनको सम्भाव्यता अध्ययनका लागि यो परियोजना नेपालकै एक महत्वपूर्ण पाइला हो।

यो परियोजना बीपीसीद्वारा सञ्चालित १२ मेगावाटको झिमरुक जलविद्युत् आयोजनाको परिसरमा स्थापना गरिएको हो। विश्व बैंकको प्राविधिक सहयोग तथा संयुक्त अधिराज्य (यूके) सरकारको वैदेशिक, राष्ट्रमण्डल र विकास कार्यालय (FCDO) मार्फत प्राप्त आर्थिक सहयोगमा यो परियोजना कार्यान्वयनमा आएको हो।

परियोजनाको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सांसद, ऊर्जा मन्त्रालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विश्व बैंक र एफसीडीओका पदाधिकारीहरू तथा ऊर्जा क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

बीपीसीको यस पाइलट प्लान्टमा ५० किलोवाट क्षमताको क्षारीय (Alkaline) इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ। यसले नवीकरणीय जलविद्युत्को प्रयोग गरी पानीबाट ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्छ। उत्पादित हाइड्रोजनलाई १५० बार प्रेसरमा सिलिण्डरमा भण्डारण गरिने र यसको विभिन्न क्षेत्रमा प्रयोगबारे परीक्षण गरिने कम्पनीले जनाएको छ।

चीनको ‘सीपीयू हाइड्रोजन पावर टेक्नोलोजी’ ले निर्माण गरेको यो प्लान्टबाट गत वैशाख १ गते (१३ अप्रिल २०२६) नै पहिलो पटक सफलतापूर्वक हाइड्रोजन सिलिण्डर भरिएको थियो।

कार्बन उत्सर्जन न्यूनीकरणमा हरित हाइड्रोजनलाई विश्वव्यापी रूपमा महत्वपूर्ण ऊर्जा वाहक मानिन्छ। यसको प्रयोग यातायात, उद्योग, रासायनिक मल उत्पादन र ऊर्जा भण्डारणमा गर्न सकिन्छ।

बीपीसीका प्रतिनिधिहरूका अनुसार यो परियोजना केवल उत्पादनमा मात्र सीमित नभई हाइड्रोजनको भण्डारण, सुरक्षा र आर्थिक व्यवहार्यता बुझ्ने एउटा प्रयोगात्मक प्रयास हो। यसबाट प्राप्त हुने अनुभवले भविष्यमा ठूला परियोजना निर्माण र नीति निर्माणमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

नेपाल सरकारले पनि हेटौँडामा २.५ मेगावाटको हाइड्रोजन परियोजना अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा निजी क्षेत्रबाट सुरु भएको यो परियोजनाले नेपालको स्वच्छ ऊर्जा मिश्रणको लक्ष्यलाई थप बल पुर्‍याएको छ। जलविद्युत् विकासमा ६ दशक लामो अनुभव बोकेको बीपीसीले यो परियोजनामार्फत आफूलाई भविष्यको ऊर्जा प्रविधिमा पनि अब्बल सावित गर्ने लक्ष्य राखेको छ।