• २०८३ जेठ २७
  • 2026 June 10, Wednesday

नेपालमा याङ्गो राइडको एक वर्ष पूरा, २२ करोड ६० लाख किलोमिटरभन्दा बढीको यात्रा

काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुप अन्तर्गतको ‘याङ्गो राइड’ ले नेपालमा आफ्नो सञ्चालनको पहिलो वर्ष सफलताका साथ पूरा गरेको छ। एक वर्षको अवधिमा कम्पनीले सुरक्षित, किफायती र भरपर्दो यात्रा सेवा प्रदान गर्दै हजारौँ मानिसहरूका लागि आम्दानीका अवसरहरू समेत सिर्जना गरेको जनाएको छ।

सन् २०२३ को मे महिनाबाट नेपालमा सेवा सुरु गरेको याङ्गो मार्फत हालसम्म २२ करोड ६० लाख किलोमिटरभन्दा बढीको यात्रा सम्पन्न भएको छ। कम्पनीका अनुसार हाल प्रत्येक महिना १० लाखभन्दा बढी मानिसहरूले याङ्गो राइड प्रयोग गरिरहेका छन्।

विशेषगरी याङ्गोको मोटो (बाइक) सेवामा उल्लेख्य वृद्धि देखिएको छ। पछिल्लो ६ महिनामा मोटो यात्राको संख्या २४७ प्रतिशतले बढेको छ भने प्लेटफर्मले समग्रमा औसत ३० प्रतिशतको मासिक वृद्धि कायम राखेको विज्ञप्तिमा उल्लेख छ।

यस अवसरमा खुसी व्यक्त गर्दै याङ्गो नेपालका कन्ट्री म्यानेजर सन्तोष पाण्डेले भने, “यो उपलब्धि हाम्रा प्रयोगकर्ता, चालक साझेदार र स्थानीय साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो। हामी सबैप्रति आभारी छौँ र आगामी दिनमा अझ उत्कृष्ट सेवा तथा थप अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ।”

सवारी सेवा (राइड हेलिङ) का साथै याङ्गोले नेपालमा ‘कार्गो’ तथा ‘डेलिभरी’ सेवा पनि सुरु गरिसकेको छ, जसले काठमाडौँ उपत्यकामा सामान ढुवानी र डेलिभरीलाई थप सहज बनाएको कम्पनीको दाबी छ।

आफ्ना चालक साझेदारहरूलाई प्रोत्साहन र सहयोग गर्न कम्पनीले काठमाडौँ तथा चितवनमा विभिन्न कार्यक्रमहरू समेत आयोजना गर्दै आएको छ। ती कार्यक्रमहरूमा उत्कृष्ट चालकहरूलाई सम्मान गर्नुका साथै विभिन्न तालिम र प्रोत्साहनका अवसरहरू प्रदान गरिएको थियो।

दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा याङ्गो राइडले सेवाको गुणस्तरमा थप सुधार, साझेदारहरूका लागि थप अवसर सिर्जना र नेपालको डिजिटल मोबिलिटी (विद्युतीय पारवहन) क्षेत्रको विकासमा निरन्तर योगदान दिने लक्ष्य लिएको छ।