साहस, धैर्य र दृढ इच्छाशक्ति भए कुनै पनि सामाजिक घेरा वा भौगोलिक बाधाले मानिसलाई रोक्न सक्दैन भन्ने एउटा प्रेरणादायी उदाहरण हुन्— प्रीति अग्रवाल। व्यापारिक पृष्ठभूमिका लागि परिचित र साहसिक पर्यटन विशेषगरी हिमाल आरोहणमा निकै कम सहभागिता रहेको मारवाडी समुदायबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो महिला आरोही बनेकी छिन्।
परम्परागत सोच र समुदायको घेराभन्दा बाहिर निस्किएर सगरमाथाको ‘डेथ जोन’ मा मृत्युलाई जितेर फर्किएकी प्रीतिका लागि यो यात्रा केवल एउटा हिमालको आरोहण मात्र थिएन, बरु आफ्नो दशकौँ लामो सपना र अदम्य साहसको परीक्षा पनि थियो। ४५ दिनको कडा शारीरिक संघर्ष, आध्यात्मिक शक्ति र हिमालप्रतिको अगाध श्रद्धालाई उनी आफ्नो सफलताको मुख्य कडी मान्छिन्।
सगरमाथाको चुचुरोमा पुगेर संसारलाई नयाँ दृष्टिकोणबाट नियाल्न सफल साहसी आरोही प्रीति अग्रवालसँग उनको आरोहण यात्रा, मार्गमा भोग्नुपरेका चुनौती र सफलताका अनौठा अनुभूतिहरूमा आधारित यो विशेष कुराकानी :
सगरमाथाको टुप्पोमा, संसारको शिखरमा पाइला टेक्दाको त्यो पहिलो अनुभव र त्यहाँ बिताएको समयबारे बताइदिनुस् न ।
त्यहाँ पुग्दा एउटा अर्कै किसिमको ऊर्जा र भावनाको महसुस भयो। मलाई खुसी त थियो नै, तर सँगसँगै एउटा डर पनि मनमा खेलिरहेको थियो— यहाँसम्म त आइपुगियो, तर अब सकुशल तल कसरी झर्ने होला? त्यहाँको चिसो वर्णन गरी साध्य छैन। मेरो हातहरू पुरै जमेका थिए। मलाई लाग्छ १० मिनेटजति त म त्यहाँ ‘दाइ मेरो हात गयो, मेरो हात गयो’ भनेर रोइरहेकी थिएँ। धेरै मान्छेहरू त्यहाँ पुग्ने सपना देख्छन्, तर त्यहाँ पुग्नु मात्र ठूलो कुरा होइन, सुरक्षित फर्किनु सबैभन्दा ठूलो चुनौती हो। मेरो मनमा सगरमाथाप्रति एउटा गहिरो श्रद्धा थियो, मैले त्यहाँ पुगेर हिमाललाई ढोग गरेँ। ८ः३० बजेतिर हामी क्याम्प २ पुग्दा मेरो शरीर पुरै गलेको थियो तर मन एउटा छुट्टै सन्तुष्टी भरिएको थियो।
तपाईं मारवाडी समुदायको पहिलो आरोही बन्नुभयो। यो यात्राको सोच कसरी पलायो?
मारवाडी समुदायमा हिमाल आरोहणको संस्कृति एकदमै कम छ। म जब लोबुचे हिमाल चढ्न तयार भएँ, धेरैले बुबालाई भन्थे, “छोरीलाई किन यस्तो जोखिममा पठाएको? केही भइहाल्यो भने के गर्ने?“ मान्छेहरूमा सपना त हुन्छ तर समाजको डरले दबाएर राख्छन्। सगरमाथा चढ्न पैसा मात्र भएर हुँदैन, त्यहाँ पुग्नका लागि इच्छाशक्ति, धैर्यता, र भाग्यको पनि ठूलो हात हुन्छ। मेरो शेर्पाले मलाई भन्नुभएको थियो कि म पहिलो पटकमै सफल भएँ, जबकि कतिपय मानिसहरू ८–१० पटक प्रयास गर्दा पनि पुग्न सकेका हुँदैनन्।
सगरमाथा मेरो सानैदेखिको सपना थियो। म सानो छँदा डायरीमा आफ्ना इच्छाहरू लेख्थेँ— सगरमाथा चढ्ने, चन्द्रमामा पुग्ने जस्ता कुराहरू। मुम्बईबाट स्नातक सकेर काठमाडौँ फर्किएपछि एकजना साथीले अन्नपूर्ण बेस क्याम्प जाने कुरा गरे।
म स्कुलदेखि नै एथलेटिक्समा रुचि राख्ने भएकाले तयार भएँ। सन् २०१३ मा सगरमाथा आधार शिविर पुगेर सगरमाथालाई पहिलो पटक नजिकबाट देखेँ, र त्यहीँबाट मलाई लाग्यो— म पनि माथिसम्म पुग्न सक्छु।
एउटा सामान्य ट्रेकिङबाट सगरमाथाको शिखरसम्मको तयारी कसरी गर्नुभयो?
सन् २०१३ पछि मैले हरेक वर्ष एउटा न एउटा पदयात्रा गर्न थालेँ। लाङटाङ, पुन हिल, मर्दी हिमाल र तिलिचो ताल पुगेँ। सन् २०२१ मा मैले मिरा पिक (६,४७६ मि.) चढ्ने निर्णय गरेँ। तर त्यहाँ म शिखरभन्दा मात्र २०० मिटर तलबाट फर्किनुपर्यो। गाइडको समस्या र तयारीको कमीले म असफल भएँ। त्यो क्षण म निकै रोएँ र मलाई लाग्यो कि मेरो सपना अधुरो रहने भयो। तर पछि बुझेँ कि हिमालले मलाई एउटा ठूलो पाठ सिकाएको थियो, राम्रो गियर, सहि जुत्ता र अनुभवी गाइड कति महत्त्वपूर्ण हुन्छन्।
त्यसपछि मैले सन् २०२४ मा लोबुचे पिक चढेँ। अनि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारो र नेपालको मनास्लु (८,१६३ मि.) चढेँ। मनास्लु आरोहण मेरो लागि सबैभन्दा महत्त्वपूर्ण अनुभव थियो। ८,००० मिटरभन्दा माथिको हिमाल चढ्दा डेथ जोन मा कसरी सास फेर्ने र कसरी बाँच्ने भन्ने आत्मविश्वास ममा पलायो।
तपाईंले सगरमाथातर्फ आफ्नो पहिलो पाइला कसरी चाल्नुभयो र सुरुवाती यात्रा कस्तो रह्यो?
सगरमाथातर्फको मेरो पहिलो पाइला भावना र उत्साहले भरिएको थियो। घरबाट निस्कँदा म एकदमै उत्साहित थिएँ किनभने यो मेरो वर्षौँदेखिको सपना थियो। यात्रामा निस्कनुअघि धेरै रात म सुत्न सकेकी थिइनँ। मनमा अनेकौँ प्रश्नहरू खेल्थे, म चढेर फर्कन सक्छु कि सक्दिनँ?, कतै त्यहीँ मरिन्छ कि? तर म आध्यात्मिक भएको र प्राणिक हिलिङ गर्ने भएकाले मलाई आफू सुरक्षित फर्कन्छु भन्ने एउटा भित्री विश्वास थियो। मलाई के लागेको थियो भने, यदि मैले यो सपना पूरा गर्ने प्रयास गरिनँ भने म भित्रैबाट मरिसकेको हुनेछु। त्यसैले, मलाई मृत्युको डरभन्दा पनि सपना अधुरो रहने डर बढी थियो। घरबाट निस्कँदा ममी निकै रुनुभएको थियो, तर मेरो अगाडि बुबा–ममी दुवैले हाँसेरै बिदा गर्नुभयो र मैले खुसीसाथ यो महान् यात्राको पहिलो पाइला चालेँ।
शारीरिक रूपमा हाम्रो यात्रा काठमाडौँबाट सुरु भएर सुरुमा लुक्ला पुग्यो। लुक्लामा नबसी हामी सिधै फाक्दिङतर्फ लाग्यौँ। त्यसपछि नाम्चे (३,४४० मिटर) पुगेर हामीले उचाइ र त्यहाँको वातावरणसँग शरीरलाई घुलमिल गराउन एक दिन बितायौँ। नाम्चेपछि ट्याङबोचे हुँदै हामी दिङबोचे पुग्यौँ, जहाँ फेरि एक दिन ‘एक्युमटाइज’ का लागि बस्यौँ। यसरी लुक्लाबाट हिँडेको करिब ८ दिनमा हामी सगरमाथा आधार शिविर पुग्यौँ। आधार शिविर पुगिसकेपछि चाहिँ सिधै हिमाल चढ्न थालिँदैन, त्यहाँ झन्डै एक महिना बसेर विभिन्न ‘रोटेसन’ र तयारीहरू गर्नुपर्ने हुन्छ। मेरो यो पुरै सगरमाथा आरोहणको यात्रा कुल ४५ दिनको रहेको थियो।
यात्रा कत्तिको चुनौतीपूर्ण थियो र त्यहाँका प्राविधिक कठिनाइहरूले तपाईंलाई कस्तो अनुभव गरायो?
खुम्बु आइसफल संसारकै सबैभन्दा खतरनाक ग्लेशियरहरू मध्ये एक हो र मेरो लागि यो यात्रा निकै जोखिमपूर्ण रह्यो। त्यहाँ बरफका ठूला ढिक्काहरू कुन बेला खस्छन् भन्ने कुनै टुंगो हुँदैन। सन् २०१५ मा यस्तै ढिक्का खसेर धेरैको ज्यान गएको इतिहासले पनि मनमा डर पैदा गर्थ्यो। हामी पहिलो रोटेसनका लागि बिहानै ३ : ४५ बजेतिर हिँडिरहँदा अचानक एउटा सानो हिमपहिरो आयो। त्यहाँ झन्डै २०० जना मान्छेहरूको भिड थियो र सबैजना निकै डराएका थिए। तर मेरो गाइडले छिटो–छिटो हिँड्नुपर्छ भन्दै मलाई अगाडि बढाउनुभयो।
क्याम्प १ बाट क्याम्प २ सम्म पुग्न अर्को ठूलो संघर्ष गर्नुपर्यो। ३५ किलोमिटर प्रति घण्टाको दरले हावाहुरी चलिरहेको थियो, जसले गर्दा सामान्यतया ३ घण्टामा सकिने बाटो तय गर्न हामीलाई ६ घण्टा लाग्यो। क्याम्प २ मा पुग्दा मेरो टाउको फुट्ला झैँ दुखिरहेको थियो र शरीर पुरै गलिसकेको थियो। त्यो बेला मलाई मैले साँच्चै यो पूरा गर्न सक्छु त? भन्ने गहिरो शङ्का लागेको थियो, तर गाइडले लगातार मलाई प्रोत्साहित गरिरहनुभयो।
प्राविधिक रूपमा भन्नुपर्दा, त्यहाँका गहिरा खोँचहरू पार गर्नु सबैभन्दा डरलाग्दो काम थियो। यसपालि ५ वटा भर्याङहरूलाई डोरीले बाँधेर ३० मिटर लामो पुल जस्तो बनाइएको थियो। त्यो भर्याङमा टेकेर तलको अनन्त गहिराइ हेर्दा मुटु नै काम्थ्यो। तर जब मैले ती डरलाग्दा खोँचहरू दुई पटक सफलतापूर्वक पार गरेँ, ममा एउटा ठूलो आत्मविश्वास पलायो। त्यसपछि मलाई महसुस भयो कि यदि म यी प्राविधिक कठिनाइहरू पार गर्न सक्छु भने म पक्कै पनि सगरमाथाको शिखरसम्म पुग्न सक्छु।
आरोहणको क्रममा भौतिकभन्दा बढी मानसिक चुनौती कस्तो हुन्छ?
हिमालमा शरीर त थाक्छ नै, तर दिमागले हार मान्यो भने तपाईं अगाडि बढ्नै सक्नुहुन्न। एक पटकमा एक पाइला भन्ने सिद्धान्त नै त्यहाँको मुख्य मन्त्र हो। शिखरतिर हेर्दा अझै कति टाढा छ भनेर डर लाग्छ, त्यसैले म जहिले पनि आफ्नै खुट्टाको अगाडि हेर्दै हिँड्थेँ। अक्सिजनको कमीले गर्दा शरीर निकै कमजोर हुन्छ, खान मन लाग्दैन, सुत्न सकिँदैन। यस्तो बेला आफैँलाई म सक्छु, म पुग्छु भनेर मानसिक रूपमा तयार राख्नुपर्छ।
समिटको दिनका चुनौतीहरू कस्ता थिए?
हामी बेलुका ५ : ३० बजे क्याम्प ४ बाट शिखरका लागि हिँड्यौँ। बाटोमा ३–४ जना आरोहीहरू डोरीमा झुन्डिएको देखेँ। त्यो दृश्यले मन निकै भारी भयो र एकछिन त अगाडि बढ्ने हिम्मत नै हरायो। तर मैले भगवानको नाम लिएँ र अगाडि बढेँ। समिट पुग्दा बिहान ५ : ५७ भएको थियो।
फर्किने बेला हिलारी स्टेप पुग्दा मेरो अक्सिजन पुरै सकियो। मलाई सास फेर्न गाह्रो भयो, आँखा तिरमिराउन थाले, मलाई लाग्यो अब मेरो अन्तिम समय आयो। मसँग भएको गाइडसँग पनि अक्सिजन थिएन। म त्यहाँ १५ मिनेटजति अक्सिजन बिना नै जीवन र मृत्युको दोसाँधमा बसेँ। त्यही बेला अर्को एउटा कम्पनीका गाइडले मलाई देख्नुभयो र उहाँसँग भएको अतिरिक्त अक्सिजन दिनुभयो। उहाँ मेरो लागि भगवान जस्तै बन्नुभयो।
तपाईंको यो सफलतामा आध्यात्मिकताको कस्तो प्रभाव रह्यो?
म प्राणिक हिलिङ र ध्यानमा विश्वास गर्छु। मलाई लाग्थ्यो हिमालले मलाई बोलाइरहेको छ। आरोहणको क्रममा म सधैँ मनमनै हनुमान चालिसा पढ्ने गर्थेँ। क्याम्प २ मा सुतेको बेला सपनामा पनि मैले हनुमान जीलाई देखेकी थिएँ। शिखरमा पुग्दा मैले आफूसँगै लगेको हनुमान जीको फोटो देखाएर प्रार्थना गरेँ। मलाई लाग्छ, एउटा दैवी शक्तिले नै मलाई त्यहाँ पुर्याएर सुरक्षित घर फर्काएको हो।
सगरमाथामा फोहोरको चर्चा धेरै हुन्छ, तपाईंले त्यहाँको अवस्था कस्तो देख्नुभयो?
क्याम्प ४ मा धेरै फोहोर छ। मान्छेहरूले जानीजानी फालेका होइनन्, तर त्यहाँको प्रतिकूल परिस्थिति र अक्सिजनको कमीले गर्दा एउटा खाली अक्सिजन सिलिन्डर बोकेर तल झर्नु पनि ज्यानको जोखिम मोल्नु सरह हुन्छ। तापक्रम र हावाका कारण फोहोर व्यवस्थापन निकै कठिन छ। यद्यपि, अहिले सरकार र विभिन्न संस्थाहरूले सरसफाइमा निकै ध्यान दिएका छन् र नयाँ नियमहरू पनि लागू भएका छन्।
अन्तमा, सगरमाथाको सपना देख्नेहरूलाई के भन्न चाहनुहुन्छ?
कहिल्यै पनि सिधै गन्तव्य वा सफलताको उचाइ हेरेर नडराउनुस्। सगरमाथाको शिखर मात्र ३० मिनेटको उपलब्धि हो, तर ४५ दिनको यात्रा र १० वर्षको तयारी नै वास्तविक जीवन हो। यात्राको हरेक मोडमा रमाउन सिक्नुस्। कुनै पनि ठूलो सपना पूरा गर्न एउटा सानो पाइलाबाटै सुरु गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा— प्रकृति र हिमालले हामीलाई विनम्र हुन सिकाउँछ। हामी जतिसुकै धनी वा शक्तिशाली भए पनि प्रकृतिको अगाडि हामी निकै साना छौँ। त्यसैले जहिले पनि आफ्नो जरा र धर्मलाई नबिर्सनुहोस्।