काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत नुवाकोटको रातमाटे र नयाँ दमौलीमा उच्च क्षमताका सबस्टेसन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारणलाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। संयुक्त राज्य अमेरिकाको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा सञ्चालन भइरहेको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण तथा सडक स्तरोन्नति कार्यक्रम अघि बढाइएको हो।
विद्युत् प्रसारण आयोजनाले तीनवटा ४०० केभी क्षमताका सबस्टेसन र कुल ३१५ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने लक्ष्य राखेको छ।
हाल शुभारम्भ गरिएको २९७ किलोमिटर प्रसारणलाइन सञ्जालमा लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा, रातमाटे-न्यू दमौली तथा न्यू दमौली-न्यू बुटवल खण्ड समावेश छन्। आयोजनाअन्तर्गत निर्माण हुने रातमाटे र न्यू दमौली सबस्टेसन नेपालकै सबैभन्दा ठूला उच्च-भोल्टेज सबस्टेसनमध्ये पर्ने बताइएको छ।
अर्थ मन्त्रालयका सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र आर्थिक विकासका लागि प्रसारण पूर्वाधार सुदृढीकरण अपरिहार्य रहेको बताए। उनका अनुसार यो आयोजना नेपालको दीर्घकालीन आर्थिक समृद्धि र ऊर्जा सम्भावनाको अधिकतम उपयोगसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले परियोजनाले नेपालको ऊर्जा भविष्यलाई मजबुत बनाउने उल्लेख गर्दै यसबाट देशभित्र मात्र होइन, सीमापार ऊर्जा व्यापारका अवसरसमेत विस्तार हुने बताए। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण प्रणालीको विस्तारले घरपरिवार, उद्योग तथा व्यवसायका लागि भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्माणाधीन पूर्वाधारहरू राष्ट्रिय प्रसारण सञ्जालकै महत्वपूर्ण विस्तार भएको बताए। एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजनालाई नेपालको ऊर्जा पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्दै यसले नेपाललाई क्षेत्रीय ऊर्जा बजारमा थप प्रभावशाली बनाउने धारणा राखे।
आयोजनाअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेसन निर्माणको जिम्मेवारी टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ। त्यसैगरी लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा प्रसारणलाइन आशिष-बोझ्लर संयुक्त उपक्रम, रातमाटे-न्यू दमौली खण्ड एञ्जेलिक-स्किपर संयुक्त उपक्रम तथा न्यू दमौली-न्यू बुटवल खण्ड वाइबा–सालसर संयुक्त उपक्रमले निर्माण गर्नेछन्।