काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आगामी आर्थिक बर्षको बजेटप्रति टिप्पणी गर्दै फुकेको बेलुनको संज्ञा दिएका छन् ।
बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले बजेटमा करिब ७ खर्बको घाटाको बजेट ल्याएको भन्दै यो हावा भरेको बजेट भएको टिप्पणी गरेका हुन् ।
उनले भने- ‘दक्षिण एशियामा कुनै देशनै छैन जहाँ ३२-३३ प्रतिशत जीडीपीको बजेट बनाइन्छ, यो आफैमा ठुलो फुकिएको बेलुन हो । फुकिएको बेलुन यो धेरै टिक्दैन, यो कार्यान्वयन हुँदैन, अरुलाई विश्वास भएपनि मलाई विश्वास छैन ।’
उनले बजेटबाट कति प्रतिशत जनता खुशी भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई यस्तो प्रश्न गरेका छन् ।
उनले संविधानले शिक्षा र स्वास्थ्य मौलिक हक भएको र त्यसमा कर लगाउने काम गरेको भन्दै बजेटको आलोचना गरेका छन् । सिंहले अर्थमन्त्री बुढानिलकण्ठको विद्यार्थी भएको भन्दै आफुले सात प्रदेशमा आवासीय विद्यालयको अवधारणा बजेटमा आउने अपेक्षा गरेपनि त्यस्तो कुनै कार्यक्रम नआएको टिप्पणी गरेका छन् ।