• २०८३ जेठ २९
  • 2026 June 12, Friday

नेपाल बैंकको वेबसाइट अब ‘अपाङ्गतामैत्री’

काठमाडौँ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले समावेशी र पहुँचयोग्य बैंकिङ सेवालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइटलाई ‘अपाङ्गतामैत्री’ बनाएको छ । बैंकले दृष्टिविहीन तथा अन्य विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल बैंकिङ सेवामा समान पहुँच सुनिश्चित गर्न यो नयाँ व्यवस्था गरेको हो ।

बैंकद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, नयाँ परिवर्तित वेबसाइटमा दृष्टिविहीन व्यक्तिहरूका लागि उपयोगी हुने ‘स्क्रिन रिडर’ (Screen Reader) मैत्री संरचना समावेश गरिएको छ । त्यसैगरी, न्यून दृष्टि भएका ग्राहकहरूलाई ध्यानमा राख्दै अक्षरको आकार परिवर्तन गर्न मिल्ने सुविधा (Font Size Change) र उच्च कन्ट्रास्ट (High Contrast) को विकल्प समेत थपिएको छ ।

समावेशी बैंकिङ सेवाप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै बैंकले सबै नागरिकलाई सहज, सुरक्षित र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउनु आफ्नो दायित्व भएको बताएको छ । यस कार्यले विशेषगरी दृष्टिविहीन र न्यून दृष्टि भएका ग्राहकहरूलाई आधुनिक डिजिटल बैंकिङको प्रयोग गर्न धेरै सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल नेपाल बैंकले देशभर रहेका २३१ शाखाहरु, २४६ एटीएमहरु र ६१ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले पछिल्लो समय आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत आफ्नो सेवामा व्यापक सुधार गर्दै लगेको छ ।

नेपालीमाझ ‘नेपालको पहिलो बैंक’ को रूपमा छुट्टै पहिचान बनाएको यस बैंकले समयसापेक्ष प्रविधि भित्र्याएसँगै ग्राहकहरूको आकर्षण पनि दिन प्रतिदिन बढ्दै गएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले जानकारी दिए ।