काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गरी उपलब्ध गराएको ‘टिभी प्याकेज’ सम्बन्धी ग्राहकका जिज्ञासा र गुनासो सम्बोधन गर्न २४ सै घण्टा सम्पर्क नम्बरको व्यवस्था गरेको छ।
प्याकेज खरिद गर्ने क्रममा वा सेवामा कुनै प्राविधिक समस्या देखिएमा ग्राहकले टेलिकमको साझा हेल्पलाइन नम्बर १९८ मा सम्पर्क गरी आफ्नो गुनासो टिपाउन सक्नेछन्। त्यसैगरी, प्याकेज खरिदसँग सम्बन्धित विशेष गुनासोहरूको तत्काल र प्रभावकारी समाधानका लागि कम्पनीले वैकल्पिक नम्बर ०१५९७००१९ समेत सञ्चालनमा ल्याएको छ। यसरी प्राप्त गुनासोहरूलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्ने व्यवस्था मिलाइएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एनटीटीभीका ग्राहकले ९९९ रुपैयाँमा यो प्याकेज खरिद गरी विश्वकपका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन्। वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको इन्टरनेट प्याकेज लिने नयाँ वा नवीकरण गर्ने ग्राहकले यो सेवा बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन्। बोनस प्याकेज सुचारु गर्न ग्राहकले आफ्नो मोबाइलबाट *१४१६# डायल गरी ४ नम्बर छनोट गरेर सेटटप बक्सको म्याक एड्रेस उपलब्ध गराउनुपर्ने हुन्छ।
यसका साथै ग्राहकले आफ्नै टेलिभिजन सेटमा हिमालय स्पोर्ट्स च्यानल छनोट गरी ओटीपी (OTP) मार्फत वा नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमा पुगेर पनि प्याकेज सक्रिय गराउन सक्नेछन्। सेवालाई थप झन्झटरहित बनाउन कम्पनीले २४ सै घण्टा ग्राहक सेवा र समर्पित सम्पर्क नम्बरहरू उपलब्ध गराएको हो।