• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

एन आई सी एशिया लघुवित्तको आठौँ साधारण सभा सम्पन्न, लक्ष्मण चालिसे अध्यक्षमा चयन

धरान । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सुनसरीको धरानस्थित गोर्खा होटलमा सम्पन्न भएको छ। जेठ ३० गते सम्पन्न भएको उक्त सभाले संस्थाको आगामी नेतृत्व र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूलाई अनुमोदन गरेको छ।

सभाले प्रचलित कानुन बमोजिम नयाँ सञ्चालक समितिको निर्विरोध निर्वाचन समेत गरेको छ। जसअन्तर्गत संस्थापक समूह (एन आई सी एशिया बैंक लिमिटेड) बाट लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी सञ्चालक पदमा निर्वाचित भएका छन्। त्यसैगरी, सर्वसाधारण समूहको तर्फबाट बलराम पौडेल र मिलन सिग्देल सञ्चालक पदमा चयन भएका छन्।

साधारण सभा सम्पन्न भएपश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मत रूपमा संस्थाको अध्यक्ष पदमा चयन गरेको छ। नवनियुक्त अध्यक्ष र सञ्चालकहरूको कार्यअनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गर्न थप सहयोग पुग्ने र एन आई सी एशिया लघुवित्तलाई मुलुककै अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गर्न थप ऊर्जा मिल्ने विश्वास संस्थाले व्यक्त गरेको छ।