• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

‘काम नगर्ने ठेकेदार जहाँ भए पनि खोजेर ल्याउनू, खुट्टा भाँचिदिनू’ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक विस्तारमा ढिलासुस्ती गर्ने र बिजुलीको पोल नसार्ने ठेकेदारलाई जहाँ भेटिन्छ त्यहीँ समातेर ‘खुट्टा भाँचिदिन’ सार्वजनिक रूपमै ठाडो निर्देशन दिएका छन्।

नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षणका क्रममा आइतबार मन्त्री लम्सालले प्रशासन र प्रहरीकै अगाडि ठेकेदारमाथि जाइलाग्न निर्देशन दिएका हुन्।

राज्यको जिम्मेवार ओहोदामा बसेर कानुनलाई चुनौती दिने शैलीमा हिंसात्मक अभिव्यक्ति दिएपछि मन्त्री लम्साल यतिबेला तीव्र विवाद र आलोचनाको घेरामा परेका छन्।

नागढुंगा–मुग्लिन सडक खण्डमा बिजुलीका पोलहरू नहटाउँदा काम ठप्प भएको भन्दै मन्त्री आक्रोशित भएका हुन्। उनले मन्त्रालयका सचिव, धादिङ प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई अघि राखेर आक्रोशपूर्ण शैलीमा ‘खुट्टा भाँच्ने’ निर्देशन दिएका हुन्।

उनले भने, ‘यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ? यो धर्तीमा कहाँ छ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नू। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनू, मतलब भएन ।’

मन्त्रीको यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।