काठमाडौँ । मुस्ताङमा रोकिएका बीवाइडीका ७७५ गाडी दुई सातापछि छाडिएको छ। सशस्त्र प्रहरी बलले दुई सातादेखि जोमसोम र कोरलानाकामा रोकेर राखेका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाउँदै फुकुवा गरेको जनाएको छ।
गत जेठको दोस्रो र तेस्रो सातामा कोरलानाका नाका भएर कुल ७७५ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए। तीमध्ये ६४९ वटा सवारीको भन्सार जाँचपास प्रक्रिया पूरा भइसकेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। आयात प्रक्रियामा कुनै अनियमितता वा कैफियत हुनसक्ने आशंकापछि सशस्त्र प्रहरीले ती सवारी नियन्त्रणमा लिएको थियो।
साइमेक्स इंकले खरिद गरी नेपाल ल्याएका यी सवारीसाधनबारे सत्यतथ्य पत्ता लगाउन अर्थ मन्त्रालयले निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले जेठ २१ गतेदेखि कास्की, पर्वत तथा मुस्ताङका विभिन्न स्थानमा पुगेर स्थलगत अध्ययन तथा अनुसन्धान थालेको थियो।
समितिको प्रारम्भिक प्रतिवेदनले सवारी आयात प्रक्रियामा कुनै स्पष्ट कैफियत नदेखिएको निष्कर्ष निकालेपछि नियन्त्रणमा रहेका सवारीसाधन फुकुवा गर्ने निर्णय गरिएको हो।
यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७, जोमसोम क्षेत्रमा २६६ तथा कोरलानाकामा ३९४ वटा विद्युतीय सवारी नियन्त्रणमा राखेको थियो। ती सबै सवारी अब क्रमशः गन्तव्यतर्फ पठाउन थालिएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गुल्म जोमसोमका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनपछि आइतबार साँझदेखि नियन्त्रणमा रहेका सम्पूर्ण सवारीसाधन सम्बन्धित पक्षलाई हस्तान्तरण गरिएको हो। उनले प्रारम्भिक अनुसन्धानमा कुनै समस्या नदेखिएकाले सवारी सञ्चालन तथा ढुवानी प्रक्रिया सहज बनाइएको बताए।
जोमसोम बसपार्कमा राखिएका २६६ सवारीमध्ये आइतबार र सोमबार गरी २२३ वटा आफ्नो गन्तव्यतर्फ पठाइसकिएको छ भने हाल ४३ वटा मात्रै बाँकी रहेका छन्। कोरलानाकामा रहेका अन्य सवारी पनि भन्सार जाँचपास सम्पन्न भएसँगै क्रमिक रूपमा गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ।